बेलायतमा कोभिड खोपको दुवै डोज लिएकी नर्सको सुझाव: खोप लिन डर नमानौं

लन्डन । कोरोना भाइरसको संक्रमणविरुद्ध अग्रपंक्तिमा काम गर्ने (कि वर्कर ) हरु नै संक्रमणको सबैभन्दा बढी जोखिममा रहन्छन् । जसमध्ये स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुले झनै जोखिम मोल्नुपर्ने हुन्छ । गतवर्षको मार्च अप्रिलबाट बेलायतमा कोरोना संक्रमण बढेसंगै स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु निकै प्रभावित बने । संक्रमित संख्याको चापका कारण थपिएको व्यस्त दैनिकीका साथै सुरक्षाका दृष्टिकोणले आवश्यक पीपीइ अभावले शारीरिक रुपमा मात्र हैन, मानसिक रुपमा पनि उनीहरु थप पीडित बने ।

कोरोनाविरुद्धको खोपको विकास नहुन्जेलसम्म आफ्नो जीवनको समेत पर्वाह नगरी रातदिन खटेका स्वास्थ्यकर्मीहरु खोपको विकासले निकै उत्साही बनेका छन् । बेलायतमा कोरोना संक्रमणको पहिलो लहरका बेला सैयौं स्वास्थ्यकर्मीहरुले ज्यान गुमाए । तर, हाल बेलायतमा कोरोनाको दोस्रो लहर मात्र हैन, अहिले नयाँ किसिमको भाइरस देखा परेपछि उनीहरुलाई झन् त्रसित पनि बनाएको छ । तर पनि कोरोना विरुद्धको खोप वितरण शुरु भइरसकेका कारण आत्मबल भने पक्कै बढेको छ । बेलायतमा खोप अभियान शुरु भएयता २६ लाखभन्दा बढीले खोप लिइसकेका छन् जसमध्ये केहिले दोस्रो डोज पनि लिइसकेका छन् ।

बेलायतको डोरसेटस्थित स्वानेज कम्युनिटी अस्पतालमा स्टाफ नर्सको रुपमा विगत ५ वर्षदेखि काम गर्दै आएकी अनिता गैरेको पनि कोरोना संक्रमणको शुरुदेखि कोरोनाविरुद्धको खोपसम्म आइपुग्दा थुप्रै तीतामिठा अनुभवहरु छन् । गत अप्रिलमा कोरोना संक्रमितको संख्या बढेका कारण उनले काम गरेको अस्पताललाई कोभिड वार्डमा परिणत गरियो । त्यसपछि त्यहाँ कोरोना संक्रमितमात्र राख्न थालियो ।

शुरुमा कोरोना भाइरसबारे आवश्यक जानकारी नहुँदा र सुरक्षासम्बन्धी प्रक्रिया नअपनाउँदा धेरै मानिसहरुको ज्यान जोखिममा परेको उनको अनुभव छ । संक्रमणबाट के कसरी जोगिने भन्ने पर्याप्त ज्ञान नहुँदा र आवश्यक पीपीईको आभावले गर्दा आफू कार्यरत अस्पतालका केहीबाहेक सबैजना कोरोना संक्रमणको शिकार बनेको उनी सुनाउँछिन् ।

उनी आफै संक्रमित भएपछि केहि दिनमा श्रीमानलाई पनि संक्रमण देखियो । दुई हप्तासम्म शारीरिक र मानसिक दुवै प्रकारको असर पर्यो । त्यसबेला कोरोना लागेपछि मृत्यु नै हुन्छ भन्ने मानसिकताका कारण र औषधि पनि पत्ता लागिनसकेको हुँदा मरिन्छ कि बाँचिन्छ भन्ने नै सबैभन्दा ठूलो तनाव भयो ।

दुई हप्तासम्म ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, खानाको स्वाद थाहा नहुने जस्ता विभिन्न समस्याको पीडा आफ्नै ठाउँमा छ । नजिकका नातेदार तथा आफन्तहरुमा उनी नै पहिलो कोरोना संक्रमित भएकाले घर परिवार पनि उत्तिकै चिन्तित बने ।

‘दुई हप्ताको अवधिमा हामी दुवैजना संक्रमणमुक्त भइयो । त्यसपछि पुनः काममा जाँदा पनि युद्धभूमिमा लडाई गर्न गएजस्तो लाग्न थाल्यो । तर, आफ्नो जागिर नै भएकोले आफ्नो जिम्मेवारी पूरा गर्न पछि हट्ने कुरो पनि भएन’, अनिताले सुनाइन्, ‘एकपटक कोरोना लागेपछि फेरी लाग्दैन भन्ने हल्लाले आफूलाई थप उत्साह मिल्यो र निरन्तर आफ्नो कामलाई अगाडि बढाउंदै आएँ । आफ्नै आँखा अगाडि कोरोना संक्रमितको मृत्यु हुँदा र मृतकका आफन्तलाई सम्झाउनुपर्दाको क्षण सबैभन्दा दुःखद लाग्छ ।’

कोरोना संक्रमण कम हुँदै गयो र अनिता कार्यरत अस्पताल कोभिड वार्डबाट पुन: सामान्य अवस्थामा फर्कियो । तर, अहिले कोरोनाको दोस्रो लहरसंगै थपिएको नयां भाइरसका कारण पहिलाको तुलनामा झन् बढी जोखिम बढ्यो । संक्रमितको चाप बढ्न थाल्यो, सबै वार्डहरु भरिएका छन् । तर, यसपटक भने पहिलाको तुलानामा निकै आत्मबल बढेको छ । अनुभव, सुरक्षासम्बन्धी पर्याप्त उपकरण (पीपीई) र कोरोना विद्धको खोप शुरु भइसकेको छ भने धेरैले खोप लिइसकेका छन् ।

सरकारले निर्धारण गरेको खोप वितरणसम्बन्धी मापदण्ड अनुसार अनितालाई पनि गत डिसेम्बर १२ तारिखका दिन फाइजर-बायोएनटेकको पहिलो डोज खोप लगाउने अवसर मिल्यो । त्यसपछि यहि जनवरी ८ तारिखमा खोपको अन्तिम तथा दोस्रो डोज पनि लिइसकेको हुँदा निर्धक्क भएर काम गर्ने जोश जाँगर र हौसला मिलेको छ । ‘निरन्तर आफ्नो काम शुरु गरेको छु’, उनले भनिन् । कोभिड संक्रमण बढेसंगै उनको अस्पतालमा अन्य सेवा सुविधा बन्द गरेर फेरि कोभिड वार्डमा परिणत गरिएको छ ।

खोपको अनुभव र यसका असर

कोरोनाविरुद्धको खोप लिंदाको अनुभव र त्यसपछिका असरबारे अनिताले नेपाली लिंकसंग आफ्नो अनुभव यसरी शेयर गरेकी छन्:

कोरोनाविरुद्धको खोप सामान्य खोप सरह नै हो । तर, खोप लगाएपछि सामान्य असरहरु देखा परे । गत डिसेम्बरमा लगाएको पहिलो डोजको दोस्रो दिन हल्का ज्वरो आउने, खोप लगाएको पाखुरा दुख्ने, शरीर दुख्ने जस्तो समस्या देखा पर्यो । तेस्रो दिनपछि सामान्य भयो । त्यसैगरी जनवरी ८ तारिख दोस्रो तथा अन्तिम डोज लगाउँदा पनि सामान्य खालका उस्तै लक्षणहरु दोहोरिए ।

साधारण पारासिटामोलको सहयोगले ठीक भयो । खोपको दुवै डोज लगाएपछि पहिलाको तुलनामा आत्मबल बढेको छ । कतिपयले खोप लगाउन नचाहेको पनि सुन्नमा आएको छ, तर, त्यो गलत हो जस्तो लाग्छ, किनकी यसको अन्य कुनै पनि औषधि नभएको र मृत्युको शिकार हुनुपर्ने भएकोले खोपको कुनै विकल्प छैन ।

मेरो अनुभवमा खोपको बारेमा कुनै शंका मान्नुपर्ने जस्तो लाग्दैन, बिना कुनै डर आफ्नो पालो आएपछि खोप लगाउनुहोला । सकारात्मक सोच राखेर सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न अनुरोध गर्दछु । स्रोत – नेपाली लिङ्क


प्रकाशित | २९ पुष २०७७, बुधबार ०८:५८