सागर राजको गीतमा सुनोद श्रेष्ठ एन्जीसंगै “बरालिदै हिडे”…

काठमाडौं । सागर राजको स्वरमा सजिएको रमाइलो गीत ‘बरालिदै हिडे’ सार्वजनिक भएको छ । गायक स्वयंको रचना तथा संगीत रहेको उक्त गीतमा चर्चित मोडल तथा कलाकार सुनोद श्रेष्ठको परिकल्पना तथा निर्माण रहेको छ । सुशील चालिसेको निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियोमा सुनिल पराजुलीको कोरियोग्राफीमा कलाकारहरू सुजना भारती, वर्षा तिलिजा पुन मगर, प्रशान्त श्रेष्ठ र विशाल परियारको उत्कृष्ट नृत्य रहेको छ ।

म्युजिक भिडियोमा सुनेश श्रेष्ठ र साकार शाहीको छायांकन रहेको छ भने पर्क्युसनमा कुटुम्बका राजु महर्जन र बाँसुरीमा कुटुम्बकै रुबिन श्रेष्ठले साथ दिएका छन् । गीतमा प्रदीप जोशीले ब्याकग्राउन्ड स्कोरिङ, समिक सापकोटाले एरेन्ज र मिक्सिङ गरेका छन भने सम्पादन र कलर ग्रेडीङ सुप्रिम पराजुलीको रहेको छ ।

अस्ट्रेलियाको मेलबोर्नमा बसोबास गर्दै आएका चर्चित मोडल सुनोदलाई म्युजिक भिडियोमा एन्जी मुल्मीले अभिनयमा साथ दिएकी छिन । सुनोद श्रेष्ठले यसअघि आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । सात समुन्द्र पारी, बिर्सन सक्दिन, तिमी र म आधि गीतलाई दर्शक श्रोताले असाध्यै रुचाइएका म्युजिक भिडियोहरुमा पर्छन्। श्रेष्ठले अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनमा प्रसारण हुने विनर एण्ड लुजरको संस्करण, अष्ट्रेलियाकै टेलिभिजन एसबिएस मार्फत प्रसारण हुने टेलिफिल्म विल्फेर्ड द डगमा समेत अभिनय गरेका थिए।

हास्य टेलिश्रृखंला उत्पादन गर्ने कमेडी टेलिभिजनको ओपन स्यालदरमा समेत काम गरिसकेका श्रेष्ठले अस्ट्रेलियाकै च्यानल नाइनमार्फत प्रशारण भएको ग्यालोपोली बारमा गोर्खालीको रुपमा गरेको अभिनयबाट चर्चा कमाएका थिए । सुनोदले सन् २०१६ मा अष्ट्रेलियन फिचर फिल्म “द मेन कफ मेथोड” मा पनि अभिनय गरेका थिए। अस्ट्रेलियाको मेलवर्नमा छाँयाङ्कन गरिएको उक्त म्युजिक भिडियो सागर राज युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको र दर्शक श्रोता मार्फत चर्चित र लोकप्रिय बन्दै गएको छ ।


प्रकाशित | २२ पुष २०७७, बुधबार १८:०८