के हो पाठेघरको मुखको क्यान्सर ? कारण, लक्षण र रोकथामका उपाय

पाठेघरको मुखको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिना

डा अरुण शाही

अंग्रेज़ी वर्षको पहिलो महिना जनवरीलाई विश्वभरि पाठेघरको मुखको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिनाको रुपमा विभिन्न कार्यक्रम गरी मनाइन्छ। सन् २०२१ लाई विश्व स्वास्थ्य संगठनले यो क्यान्सरलाई विश्वबाट उन्मुलन गर्ने अभियान वर्षको रुपमा लिन संसारभरिका सरकारहरुलाई अपिल गरेको छ।

महिलामा हुने क्यान्सरहरुमा पाठेघरको मुखको क्यान्सरको समस्या विश्वमा चौथो स्थानमा पर्छ। नेपालमा भने यो पहिलो हो। विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरको कारणले प्रत्येक दिन पाँच जना महिलाको मृत्यु हुने गरेको छ।

कारण
–    ९९ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिबी भाइरसका कारण हुने गर्छ।
–    सानै उमेरमा बिहे गर्नु र बच्चा हुनु।
–    अपरिपक्व अवस्थामा यौनसम्बन्ध राख्नु।
–    व्यक्तिगत सरसफाइको कमी। आर्थिक अभावका कारणले स्वास्थ्य परीक्षण गराउन नसक्नु। 
–    धेरै जनासँग यौनसम्बन्ध राख्नु र यौन रोग। 
–    धूमपान गर्नु।

लक्षण
–    यौनसम्पर्कपछि रगत बग्नु।
–    योनीबाट आवश्यकताभन्दा बढी पानी बग्नु।
–    योनांग दुख्नु-पोल्नु।

रोकथामका उपाय
पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपिबी भ्याक्सिन दिनुपर्छ। एचपिबी भ्याक्सिन ९ देखि २६ वर्षको उमेरमा लिन सकिन्छ। ११ देखि १३ वर्ष उमेरमा लिनुलाई उत्तम मानिन्छ। सर्भरिक्स, गाडासेल र गाडासेल नाइन भ्याक्सिन दिन सकिन्छ। नेपालमा गाडासेल भ्याक्सिन दिने चलन छ। तर भ्याक्सिन लगाएर मात्र यो समस्याबाट जोगिन सकिँदैन। यद्यपि, धेरै हदसम्म कम गर्न भने सकिन्छ। भ्याक्सिनका साथै रोकथामका उपाय अपनाउन आवश्यक छ । जसका लागि स्क्रिनिङमा जान आवश्यक छ। यसका लागि स्त्रीरोग चिकित्सकसँग परीक्षणका लागि जानुपर्छ।

२१ देखि २९ वर्षसम्मका महिलाले हरेक ३ वर्षमा १ पटक स्त्रीरोग विशेषज्ञकहाँ गएर प्याप स्मेयर परीक्षण गर्नुपर्छ।

३० देखि ६५ वर्षसम्मका महिलाले प्याप स्मेयर र एचपिबी डिएनए परीक्षण गरेको छ भने ५ वर्षमा १ पटक परीक्षणको लागि जान सक्छन् । यदि प्याप स्मेयर मात्र परीक्षण गर्ने हो भने ३ वर्षमा १ पटक परीक्षणका लागि जानुपर्छ।

त्यसपछि आवश्यकताअनुसार क्यान्सर रोग विशेषज्ञलाई रेफर गर्ने गरिन्छ। यदि समयमै यस क्यान्सरलाई पहिचान गरेर उपचार गरियो भने निदान सम्भव छ। स्रोत- स्वास्थ्य खवर

(डा शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल ओंकोलोजिस्ट हुन्।)


प्रकाशित | १९ पुष २०७७, आईतवार ०७:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!