दोलखाको कालिञ्चोक कुरीका होटल वर्षकै पहिलोपटक भरिभराउ

दोलखा । बन्दाबन्दीको कारण लामो समयदेखि बन्द रहेका दोलखाको कालिञ्चोक कुरीका होटल वर्षकै पहिलोपटक भरिभराउ भएपछि होटल व्यवसायी खुसी भएका छन् । नयाँ वर्ष मनाउनका लागि काठमाडौँ, तराई तथा भारतबाट समेत कालिञ्चोक क्षेत्र पुगेकाले कुरीका होटलहरू भरिभराउ भएको हाइल्यान्ड होटलका सञ्चालक यम पाख्रिनले बताउनुभयो ।

उहाँका अनुसार कुरीमा रहेका सबै होटल एक हप्ताअघि देखि नै सबै बुकिङ भएका छन् । यस वर्ष पहिलोपटक होटलहरू पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् ।

नौ महिनादेखि बन्द रहेका मठमन्दिर एक महिनाअघि खुलेसँगै कालिञ्चोकमा रहेको केबुलकार शुक्रबार, शनिबार र बिदाका दिनमा पूर्ण क्षमतामा सञ्चालन हुन थालेको छ । गत असोज महिनापछि दोलखामा सबैभन्दा बढी पर्यटक काठमाडौँबाट आउने गरेका छन् ।

दोलखामा आउने पर्यटक मुख्य गरी भीमेश्वर मन्दिर, कालिञ्चोक र शैलुङमा आउने गरेका छन् । कालिञ्चोक र शैलुङमा यस वर्ष अहिलेसम्म हिउँ परेको छैन । हिउँ परेपछि हिउँ खेल्नकै लागि पनि पर्यटक आउने हुँदा हिउँको पर्खाइमा व्यवसायी रहेका छन् ।


प्रकाशित | १९ पुष २०७७, आईतवार ०६:५९