कम्बोडियामा बिचल्ली परेका २२ नेपालीलाई एनआरएनएले स्वदेश फर्कायो

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन ) ले वैदेशिक रोजगारका क्रममा कम्बोडियामा बिचल्ली परेका २२ नेपालीलाई उद्धार गरेर स्वदेश फर्काएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका नेपालीहरुको भिसा नहुँदा झण्डै ८ महिनादेखि बिचल्लीमा पर्दैै आएका थिए । कन्ट्रक्शनको काम गर्न ३ देखि ६ लाख रुपैयासम्म दलाललाई तिरेर कम्बोडिया पुगेका नेपालीहरु बिचल्ली परेपछि एनआरएनले केही महिनादेखि खाना, बस्न र हवाई टिकट उपलब्ध गराएर बुधबार स्वदेश फर्काउन सफल भएको हो ।

कम्बोडियासमेत हेर्ने नेपाली दूतावास थाइल्याण्ड र एनआरएनएका आइसीसी उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा संचालन भइरहेको ‘एनआरएनए कोभिड–१९ राहत तथा उद्धार कार्यक्रम’ले २२ नेपालीलाई स्वदेश फर्काएको हो । कम्बोडियाको फोनम पेन शहरमा बिचल्लीमा परेपछि उनीहरुले नेपाली दूतावास थाइल्याण्ड तथा अन्यसंघसंस्थालाई उद्धारका लागि गुहारेका थिए ।

दूतावासको निर्देशन अनुसार उनीहरुले गत २० अक्टोबरमा स्वदेश फर्कन आफ्नै पैसाबाट टिकट काटेका थिए तर उनीहरुलाई ओभर स्टे भन्दै कम्बोडिया इमिग्रेशनले फर्काएको थियो ।

त्रिभुवन विमानस्थलमा फर्किएका नेपालीलाई स्वागत गर्न पुगेका एनआरएनए कोभिड–१९ राहत तथा उद्धार कार्यक्रमका मेनेजर राजेन्द्रकुमार राउतले कम्बोडियामा समस्यामा परेका नेपालीलाई त्यहाँ खानबस्नदेखि नेपाल ल्याउदासम्म एनआरएनले सहयोग गरेको बताउनुभयो ।

एनआरएनले नेपाल फर्किएका युवाहरुलाई विमानस्थलमा नै खाना खुवाएर घरसम्म पु¥याउने व्यवस्था मिलाएको छ ।

एनआरएनका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. केसीले नेपाली दूतावास थाइल्याण्ड र एनआरएन एनसीसी कम्बोडियाको सहकार्यमा २२ जनालाई स्वदेश फर्काउन सकेको बताउनुभयो । एनआरएनले अहिलेसम्म झण्डै ६ हजार जनालाई प्रत्यक्ष सहयोग गरिसकेको तथा भोलिका दिनमा पनि गर्ने डा.केसीले जानकारी दिनुभयो ।

एनआरएनले कम्बोडियाबाट उद्धार गरेका नेपाली

१. लाल बहादुर थापामगर
२. मेहेरमान तामाङ
३. मिलन श्रेष्ठ
४. चन्दन सरदार
५. सन्तोष राई
६. पदम कुमार राई
७. मनिकुमार राई
८. इश्वरी प्रसाद पौडेल
९. मोतिलाल मगर
१०. डम्बर बहादुर मगर
११. हेम कर्ण लिम्बु
१२. सुर्य बहादुर खत्री
१३. डिल्ली प्रसाद खत्री
१४. शेर बहादुर खड्का
१५. नन्द बहादुर बुढाथोकी
१६. रमेश कुमार भुजेल
१७. नारायण भण्डारी
१८. रिनोज बस्नेत
१९. प्रकाश बस्नेत
२०. नारायण बहादुर अधिकारी
२१. दिपेन अधिकारी
२२. विपिन अधिकारी


प्रकाशित | ९ पुष २०७७, बिहीबार ०८:०३