प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिटको शुक्रबार सुनुवाइ हुने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट निवेदन संवैधानिक इजलासमा जाने भएका छन् । निवेदकले मागेको अन्तरिम आदेश दिन अस्वीकार गर्नु भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा पनि निवेदन भएकाले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउनु भएको हो ।

प्रतिवाद गर्नका लागि विपक्षीहरू आएकाले पनि उनीहरूलाई सुन्नुपर्ने प्रधानन्यायाधीश राणाको भनाइ थियो । प्रतिनिधिसभा विघटन गर्ने एउटै धारा ७६ मा मात्रै व्यवस्था भएकाले त्यसबारेको ब्याख्या अब संवैधानिक इजलासले गर्ने उहाँले बताउनु भएको छ ।

सबै रिट निवेदन संवैधानिक इजलासमा पठाइएसँगै प्रतिनिधिसभा विघटनविरूद्धका १३ वटै मुद्दाको सुनुवाइ शुक्रबार हुने भएको छ ।


प्रकाशित | ८ पुष २०७७, बुधबार १६:०२