मेस्सीले तोडे पेलेको कीर्तिमान

एजेन्सी । लियोनल मेस्सीले बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन् । स्पेनिस ला लिगा फुटबलमा मंगलबार बार्सिलोनाले रियल भालाडोलिड ३–० ले पराजित गरेको खेलमा मेस्सीले समेत गोल गरे । मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानलाई भंग गरेका हुन् । मेस्सीले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए । पेड्रीको ब्याकहिल पासमा मेस्सीले क्लबका लागि तेस्रो गोल गरेका थिए ।

मेस्सीकै पासमा क्लेमेन्ट लिन्गलेटले हेडमार्फत पाहुना टोली बार्सिलोनालाई अघि बढाएका थिए । ३५ औं मिनेटमा मार्टिन बे्रथवेट बार्सिलोनाको अग्रता दोब्बर बनाउने काम गरे । ईन्जुरी समयमा मेस्सीको प्रहार पोस्टमा लागेको थियो । ब्राजिली लिजेण्ड पेलेले १९ सिजन सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । उनले सन् १९५६ देखि १९७४ सम्म ब्राजिली क्लब सान्तोषबाट ब्यवसायीक फुटबल खेलेका थिए ।

मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा गरेका थिए । उनले बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि हात पारे । यस सिजनको अन्त्यसंगै मेस्सीको बार्सिलोनासंगको सम्झौता सकिदैछ ।

गत अगष्टमा उनले क्लब छाड्न चाहेको उल्लेख गर्दै क्लबसंग अनुमती माग गरेका थिए । तर क्लबले उनलाई लैजान ७ सय मिलियन युरो रकम तिर्नुपर्ने बताएको थियो ।
गत हप्तामात्र मेस्सीले समर ट्रान्सफरमा आफ्नो लागि निकै खराब समय रहेको बताएका थिए ।

मंगलबार राति मेस्सीले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदा बार्सिलोना तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछि छ ।


प्रकाशित | ८ पुष २०७७, बुधबार ०८:५३