प्रधानमन्त्री ओलीले ‘कु’ गर्नुभएको होइन, बरु ‘कु’ असफल पार्नुभएको हो: नारायणमान बिजुक्छेँ

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देश ट्क्रनबाट बचाएको बताउनुभएको छ । प्रधानमन्त्रीले ‘कु’ गर्नुभएको नभई बरु ‘कु’ असफल चाहिँ पार्नुभएको प्रतिक्रिया दिर्दै बिजुक्छेले देशलाई टुक्रनबाट बचाउन संसद विघटन आवश्यक रहेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले ‘कु’ गरे भन्नु गलत भएको बिजुक्छेको टिप्पणी छ ।

सञ्चाकर्मीसँग कुराकानी गर्दै नेता बिजुक्छेले राज्य विद्रोह, सैनिक विद्रोह गराएर सत्ता कब्जा गर्ने खेललाई मात्रै ‘कु’ भन्न मिल्ने भन्दै भन्नुभयो, ‘प्रधानमन्त्रीले ‘कु’ गर्नुभएको होइन, बरु ‘कु’ असफल चाहिँ पार्नुभएको हो।’

दुई तिहाइ बहुमत नजीकको सरकारका राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आफ्नै नेताहरु नै लाग्नु बाह्य चलखेल भएको स्पष्ट रहेको भन्दै बिजुक्छेले यसमा प्रधानमन्त्री ओली निकै सचेत भएको र अझै सचेत हुनु जरुरी रहेको पनि बताउनुभयो ।

‘प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोबाट जोगाएको छ, पार्टी फुटे अर्को बन्ला, देश फुटे के गर्ने ? यतिखेर ओलीले देश फुट्नबाट जोगाउनुभएको छ, तर यो सङ्कट अझै टरेको छैन, आगामी दिनमा अझै खतरा छ, चलखेल अझै हुन्छ, यसतर्फ अब जनता सजग हुनु जरुरी छ’, बिजुक्छेले थप्दै भन्नुभयो ।


प्रकाशित | ७ पुष २०७७, मंगलवार १८:३६