उठ्यो बारपाक, ८५ प्रतिशत घर बनिसके

गोरखा : चार वर्षअघिको शक्तिशाली भूकम्पको केन्द्रविन्दु बारपाकमा निजी आवास पुनर्निर्माण ८५ प्रतिशत सकिएको छ । यहाँका सबै घरमा क्षति पुगेको थियो । धार्चे गाउँपालिका–६, काशीगाउँका मानबहादुर गुरुङले ३ लाख सरकारी अनुदान र १ लाख रुपैयाँ ऋण लिएर भूकम्प प्रतिरोधी घर बनाएका छन् ।

उक्त गाउँपालिकाका ७ हजार १ सय ८१ लाभग्राहीमध्ये ६ हजार १ सय ४८ ले घर बनाइसकेका छन् । लाभग्राही सूचीमा छुटेको भन्दै ६ सय व्यक्तिले गुनासो गरेका छन् । ‘सबैभन्दा ठूलो चुनौती भनेकै गुनासो सम्बोधन भएन,’ भट्टले भने । केही घरधनी भने लाभग्राही सूचीमा दोहोरिएको उनले बताए । बारपाकका १३ सय ३९ लाभग्राहीमध्ये १२ सय १९ ले घर बनाएका छन् ।

जिल्लामा ४९ हजार ६९ जनाले घर निर्माण सकेर तेस्रो किस्ताको १ लाख रुपैयाँ बुझेका छन् । यहाँ ७० हजार ९ सय ८८ लाभग्राही सूचीकृत छन् । ६४ हजार ५ सय ७८ ले पहिलो किस्ता लगेका छन् । तीमध्ये डीपीसी सकेका ५७ हजार ८ सय ८७ को खातामा दोस्रो किस्ता निकासा भइसकेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइको कार्यालयले जनाएको छ । ‘तेस्रो किस्ताको निकासालाई आधार मान्दा ७४।५१ प्रतिशत निजी आवास पुनर्निर्माण सकियो,’ एकाइका इन्जिनियर शैलेन्द्र भट्टले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार ०८:५१