टोटेनहम लिगको शीर्ष स्थानमा


एजेन्सी – इंग्लिस प्रिमियर लिगमा निकै नै महत्वपुर्ण खेलमा लन्डन क्लब चेल्सी र टोटेनहम हस्टपरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो बराबरीले टोटेनहम शीर्षस्थानमा उक्लिएको छ । समान २१ अंक नै भएपनि टोटेनहमले लिभरपुललाई गोलअन्तरमा पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । चेल्सी १९ अंकसहित तेस्रो स्थानमा यथावत छ ।

स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा घरेलु टोलीले बल पोजेसनमा पकड बनाएपनि फिनिसिङ गर्न नसक्दा टोटेनहमसँग बराबरी खेल्न बाध्य बन्यो । टोटेनहमले पनि केही मुभहरु बनाउदा गोलरक्षक इडुआर्ड मेन्डी बाधक बनेका थिए ।

खेलको नवौं मिनेटमा काउन्टर अट्याकमा ह्युङ मिन सन र ह्यारी केनको समन्वयमा बनेको मुभमा स्टेभन वर्जवाइनको प्रहार क्रसबारबाट बाहिरियो । ११औं मिनेटमा टिमो वेर्नरले गोल गरेपनि उनी अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता पाएन ।

१५औं मिनेटमा सर्जी औरिएरको प्रहारलाई गोलरक्षक मेन्डीले सहजै बचाए । २८औं मिनेटमा मासन माउन्टले मोउसा सिसोकोलाई बिट गर्दै गरेको प्रहार आकासिदा चेल्सी अग्रता लिनबाट चुक्यो । ४९औं मिनेटमा रिस जेम्सको उत्कृष्ट क्रसमा ट्याम्मी अब्राहम चुके ।

५१औं मिनेटमा जेम्सकै पासमा अब्राहमले गोल गर्न सकेनन् । ६७औं मिनेटमा बिन चिलवेलको पासमा हाकिम जियचको हाफभली सट पोस्टबाट थोरै बाहिरियो । ८१औं मिनेटमा मासन माउन्टको प्रहारलाई टोटेनहमका गोलरक्षक ह्युगो लोरिसले बचाउदै चेल्सीको अग्रता टारे ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जोइ रोडोनले ह्युगो लोरिसलाई ब्याक पासलाई ओलिभर जिरुउडले नियन्त्रणमा लिदै गरेको प्रहार लोरिसकै हातमा पुग्यो ।


प्रकाशित | १५ मंसिर २०७७, सोमबार ०९:४०