एनआरएनए अमेरिकाले भन्यो -आइसिसीको निर्देशन उल्लंघन गरेका छैनौ, देशको कानून बमोजिम निर्णय गरेका हौं

टेक्सस – गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी ) को निर्देशन विपरीतको कार्य नगरेको जनाएको छ ।

एनसिसी अमेरिकाले आईसिसीले जारी गरेको निर्देशन विपरीत एनसिसी जान नसक्ने र नगएको जनाउँदै एनसिसी अमेरिकाको विधानले गरेको ब्यबस्था र देशको कानून बमोजिम सदस्यता वितरण कार्यलाई स्थगन गर्न नमिल्ने भएकोले सोको जानकारी अन्तराष्ट्रिय समन्वय परिषद्लाई गराउने निर्णय भएको बताएको छ ।

एनसिसी अमेरिकाले भविष्यमा कुनै किसिमको निर्णय भई आएमा कार्यान्वयनको लागि प्रकृया अगाडि बढाउने भए पनि सदस्यता वितरण कार्य रोक्न विधानले नदिएको जनाएको हो ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले कार्य समितिको १३ औं बैठकले अन्तराष्ट्रिय समन्वय परिषद्बाट राष्ट्रिय समन्वय परिषद्हरूलाई सदस्यता सम्बन्धी प्राविधिक प्रणाली परिक्षणको चरणमा रहेको कारण देखाई तत्काल नयॉ सदस्यता प्रदान गर्ने प्रकृया रोक्नु भनि जारी गरिएको परिपत्र माथि बिस्तृत छलफल हुँदा विधानले रोक्न नमिल्ने भएकाले सोहीअनुसारको जानकारी आइसिसीलाई गराइएको बताउनुभयो ।

यसअघि आइसिसीले विशेष साधारणसभा भर्चुअल रुपमा गर्न गइरहेको हुँदा सो अवसरमा संघको सांगठनीक पुनर्सरचना गरिने भएकाले साधारणसभा सम्पन्न नहुञ्जेलसम्म पञ्जीकृत सदस्यता वितरण कार्य रोक्न एनसिसीलाई निर्देशन दिएको थियो।


प्रकाशित | २७ कार्तिक २०७७, बिहीबार २१:४१