सुशील चालिसेद्वारा निर्मित पहिलो धिमेवादक महिला लाछिमस्युको वृत्तचित्रलाई नियाल्दा…

नेपालको पहिलो महिला धिमे तथा नौ बाजा बादक भनेर चिनिनुहुने इन्दिरा लाछिमस्युको सांगीतिक जीवनमा आधारित रहेर बनेको डकुमेन्ट्री अब युट्युब च्यानलमा हेर्न सकिने भएको छ । सुशील चालिसे युट्युब च्यानल मार्फत सो डकुमेन्ट्री हेर्न सकिनेछ ।

डकुमेन्ट्रीका निर्देशक सुशील चालिसेले यस डकुमेन्ट्रीमा इन्दिरा लाछिमस्युको सांगीतिक यात्राको क्रममा भोग्नु परेको संघर्ष, सिक्ने समयमा आइपरेका बाधा अड्चनका साथै उहाँले सिकिसकेपछि यस क्षेत्रमा प्राप्त गरेका उपलब्धिहरु संक्षीप्त रुपमा प्रस्तुत गर्नुभएको छ ।

डकुमेन्ट्रीमा कटुन्जे निवासी हाल अस्ट्रेलियाको मेलबोर्नमा बसोबास गर्दै आउनुभएका चालिसेको निर्देशनका साथै स्क्रिप्ट र न्यारेसन समेत उहाँकै रहेको छ ।

मुक्तककारको रुपमा चिनिनुहुने चालिसेको मुक्तक संग्रह ‘गुँरासहरु पलासहरु’ पुस्तक केहि बर्ष पहिले नै प्रकाशित भईसकेको छ । हाल अन्तरास्ट्रीय नेपाली कलाकार समाज ओसेनियाका संयोजक समेत रहनुभएका चालिसे बिभिन्न सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहँदै आउनु भएको छ ।

नेपालको पहिलो महिला धिमे तथा नौ बाजा बादक इन्दिरा लाछिमस्युले निर्माण पश्चात यस डकुमेन्ट्रीले आफुलाई देश विदेशमा समेत चिनाउन मद्दत पुग्नुका साथै यस छेत्रमा निरन्तर रुपमा लागिरहन अझ बढी हौसला र प्रेरणा मिलेकोमा खुशी व्यक्त गर्दै निर्माण पक्ष प्रति आभारी रहेको बताउनुभएको छ ।

डकुमेन्ट्रीमा सह निर्देशन रोशन धौबडेल, क्यामरा तथा सम्पादन रिक्की कर्माचार्य, मेकअप रोशना चौगुठि र ब्यबस्थापन अल्बर्ट बज्राचार्यको रहेको छ ।

डकुमेन्ट्री हेरिसक्नु भएका देश विदेशमा रहेका दर्शकहरुबाट राम्रो प्रतिक्रिया प्राप्त भईरहेकोमा खुशी व्यक्त गर्दै डकुमेन्ट्रीका निर्देशक चालिसेले यसबाट भक्तपुरको कला, संस्कृति, चाडपर्ब, जात्राहरु लगायत बिभिन्न बाजाहरुका बारेमा अन्तरास्ट्रीय छेत्रमा समेत चिनाउन मद्दत मिल्ने छ भन्ने आशा व्यक्त गर्नु भएको छ। उहाँले डकुमेन्ट्री हेरेर मन पराइदिनु भएका सम्पूर्ण दर्शकहरुलाई धन्यबाद दिदै हेर्न बाँकि रहनुभएका दर्शकहरुलाई हेरेर सल्लाह सुझाब र प्रतिक्रियाका दिनुहुन अनुरोध गर्नु भएको छ।


प्रकाशित | २४ कार्तिक २०७७, सोमबार १२:४६