परिवारमा एक वा बढी सदस्य कोरोना संक्रमित भए के गर्ने ?

डा अनुप सुवेदी


– १ भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिभ हुनेहरू सँगै बस्दा हुन्छ। कसैको आइसोलेसन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेसन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ। संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ। 

– ज्वरो आए, खोकी लागे, पखाला चले प्यारासिटामोल, खोकी कम गर्ने औषधि, जीवन-जलबाहेक अरू औषधि (विभिन्न थरी भिटामिन, जिङ्क, एजिथ्रोमाइसिनजस्ता एन्टिबायोटिक, आदि) कि हानीकारक छन्, कि अनावश्यक छन्।

– सबै पोजिटिभ हुनेले गर्नैपर्ने मुख्य कुरा भनेको अक्सिजन स्याचुरेसनको निगरानी नै हो। दिनमा २-३ पटक जति स्याचुरेसन हेर्नुपर्छ। यो कालोबजारीको बेला सबैले पल्स अक्सिमिटर किन्न सम्भव छैन, त्यसैले हरेक टोलमा १ पल्स अक्सिमिटरको जोहो गर्ने अभियान चलाउनुपर्ने देख्छु म। एउटै मेसिनलाई निसंक्रमण गर्दै घरघरमा लगेर टोलभरिकाले प्रयोग गर्न सकिन्छ।

– मैले देखेको मुख्य समस्याः संक्रमितको सम्पर्कमा आएका परिवारका अरू सदस्य पनि एक अर्कासँग छुट्टाछुट्टै (क्वारेन्टाइन) बस्नुपर्नेमा त्यसो नगरी आपसमा घुलमिल भएरै बसेका हुन्छन्। त्यसो गर्दा यदि १ जना सम्पर्क-व्यक्तिलाई संक्रमण सरेको रहेछ अरूलाई पनि सर्ने खतरा हुन्छ। यसरी घरभरि, टोलभर संक्रमण सल्किँदैछ।

– संभव भएसम्म छुट्टाछुट्टै कोठामा क्वारेन्टाइनमा बस्नुपर्छ, जुन अधिकांश नागरिकलाई असंभवप्रायः छ। त्यसैले समस्या हुनेलाई समुदाय/राज्यको क्वारेन्टाइन/आइसोलेसनका लागि ठाउँ जुटाइदिने दायित्व छ। महामारी फैलिन नदिन राज्यले गर्न सक्ने लगानीको अनुपातमा प्रतिफल सबैभन्दा बढी हुने काम मध्ये पर्छ यो।

– यदि कोठाको वा सामुदायिक क्वारेन्टाइन अभावले छुट्टाछुट्टै कोठामा बस्न संभव छैन भने के गर्न सकिन्छ? वा एक्लै कोठामा थुनिएर बस्न नसक्ने साना केटाकेटीलाई के गर्ने?

सजिलो छैन। त्यस्तो अवस्थामाः

छुट्टाछुट्टै बस्न गाह्रो हुने (जस्तै सानी नानी र आमा, वा स्थानाभावले एउटा कोठैमा बस्नुपर्ने अरू)ले तुरुन्तै पिसीआर गर्ने, ताकि कसैको पिसीआर पोजिटिभ रहेछ भने पहिले नै थाहा होस्। यदि दुवैको नेगेटिभ आए एउटै कोठामा पनि मास्क लगाएरै (नानीले बाहेक), दूरी कायम गरेर बस्ने। (सानी नानीलाई एक जना अभिभावकसँग मात्र बस्न फकाउने।) अनि ८-१० दिनमा फेरि पिसीआर दोहोर्‍याउने।

– छुट्टै क्वारेन्टाइन गर्न पाउनेले चाहिं लक्षण देखिएमा तुरुन्तै, नत्र छुट्टै बस्न थालेको ८-१० दिनमा १ पटक पिसीआर गरे हुन्छ।

– अर्को समस्या खाना खाँदा देखेको छु। प्राकृतिक मानवीय गुणले होला- छुट्टाछुट्टै बस्नेले पनि खाना खाँदा चाहिं सँगै वा पहिलेभन्दा साना समूहमा (जस्तै बा-आमा, छोरा-बुहारी) खान बसेको देखेको छु। खाना खाँदा पालैपालो एक्लै जाने, पस्कने, खाने गर्नुको विकल्प छैन।

 शौचालय एउटै छ भने नि ?

भेन्टिलेशन नहुने ठाउँमा पालैपालो जाँदा पनि हावामा तैरिरहेका एरोसोलबाट धेरै जना संक्रमित हुने डर हुन्छ। त्यसैले शौचालयमा पूरै समय सबैले मास्क लगाउनु पर्छ। सानै झ्याल छ भने पनि बीचबीचमा खोल्ने गर्नुपर्छ। कतिले फ्लश गर्दा कमोडको ढक्कन बन्द गर्न पनि सल्लाह दिन्छन्। 

धाराका टुटी वा जगका ह्यान्डललाई पनि साबुन पानीले धोएर पखालौं। फरक तौलिया प्रयोग गरौं।

 जाडो नहुने बेला कोठाका झ्यालहरू खोलेर राखौं।

अरू बेला के बिचार गर्नुपर्छ भने कुनै पनि समयमा एकै कोठा वा स्पेसमा मास्क नलगाई २ जना वा बढी मान्छे नबस्नुस्। स्रोत – स्वास्थ्य खवर

(सरुवा रोग विशेषज्ञ डा सुवेदी ह्याम्स अस्पतालमा कार्यरत छन्)


प्रकाशित | २२ कार्तिक २०७७, शनिबार ११:०१