काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

काठमाडौं – भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी काठमाडौं आइपुगेका हुन् ।

नरवाणेसहितको भ्रमण टोली भारतीय वायुसेनाको विमानमार्फत काठमाडौं आएको हो । नरावणे सोल्टी होटलमा बस्नेछन् ।आजै उनी पत्नी विणासहित पशुपतिनाथको दर्शन गर्न जानेछन् ।

भ्रमण टोलीमा स्थलसेनाध्यक्ष नरवणेसहित चार सदस्यीय टोली छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाका परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारीबाट कात्तिक २० गते बिहीबार दिउँसो स्थलसेनाध्यक्ष नरवणेलाई विशेष कार्यक्रमका बीच नेपाली सेनाको ‘मानार्थ महारथी सम्मान’ प्रदान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग सेनाध्यक्षको शिष्टाचार भेट कार्यक्रम तय गरिएको छ । त्यसअघि उहाँले नेपाली सेनाका प्रधानसेनापति थापासँग शिष्टाचार भेटवार्ता र शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजमा अध्ययनरत शिक्षार्थी सैनिक अधिकृतहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कनेछ ।


प्रकाशित | १९ कार्तिक २०७७, बुधबार १२:५०