कोभिड-१९ लाई आफू र आफ्ना प्रियजनबाट टाढा राखौं

डा विवेक घोष

यतिखेर विश्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त छ। नेपालमा पनि आजभन्दा भोलि कोरोनाको प्रकोप बढ्दो क्रममा छ।

अहिलेको विषम अवस्थामा खोजेको जस्तो स्वास्थ्य सेवा, पर्याप्त सुविधासम्पन्न अस्पताल, पर्याप्त भेन्टिलेटर, आइसियु बेड, चाहिए जति स्वास्थ्यकर्मी, विश्व बजारमा उपलब्ध रेमडेसिभिर, टोक्लिजुमाब जस्ता औषधि र उपकरण सजिलै पाउने अवस्था नहुन सक्छ। सबै सर्वसाधारणका लागि आर्थिक हिसाबले उपचार गर्न साध्य पनि नहुन सक्छ।

तर, सबै सेवा-सुविधा उपलब्ध भए पनि, हाल कोभिड ड्युटीमा कार्यरत एक चिकित्सकका नाताले भन्न चाहन्छु- कोभिडलाई आफ़ू र आफ्ना प्रियजनबाट टाढा राख्न नसके यसबाट बच्न सम्भव छैन। त्यसैले जे जति गर्न सक्नुहुन्छ, आफैं गर्नूस्।

विशेषतः ज्येष्ठ नागरिक, मधुमेह, उच्च-रक्तचाप, अर्बुद रोग आदि दीर्घरोगी अझ सतर्क हुनूस्। यो रोगबारे चिकित्साशास्त्रले  चिन्न र बुझ्न अझ धेरै कुरा बाँकी छ। चिजहरु सोच्नै नसक्ने गरी जटिल भइदिने गर्छन्। विभिन्न विशेषज्ञ चिकित्सकले आफ़्नो बलबुताले भ्याएसम्म सबै कुरा गर्दागर्दै पनि अकल्पनीय रुपले कुराहरु हात बाहिर जाने गरेका छन्।

कोभिड-१९ यस्तो रोग हो, जसबाट ग्रसित भएमा शारीरिक कष्ट त छँदै छ, आफन्तको प्रत्यक्ष स्नेह र सेवाबाट पनि वन्चित भइन्छ, जसले पक्कै पनि हरेक बिरामीलाई थप मानसिक पीडा हुन जान्छ। एक पटक रोग लागेर रोगमुक्त भइसक्नुभएकाहरु पनि अरुजस्तै सतर्क रहनु आवश्यक छ। यो रोग दोस्रो पटक पनि नलाग्ने होइन।

साथै, आफ़ूलाई कोभिड पुष्टि भइहालेमा के गरौं, कसो गरौं भनेर आत्तिनुभन्दा पनि पोषिलो आहार, सरसफाइ र आफ़ूबाट अरुलाई नसरोस् भनेर विशेष ध्यान पुर्याेउनुपर्छ। डराउनुभन्दा पनि सावधानी अपनाउनुपर्छ।

धेरैजसोमा रोग लागेको केही दिनपछि स्वतः निको हुन्छ, तर कम्प्लिकेटेड भइदिने वर्ग (उच्च जोखिममा- ज्येष्ठ नागरिक, मधुमेह, उच्च-रक्तचाप, अर्बुदरोग आदि दीर्घरोगी र अन्य कारणले रोगसँग लड्ने क्षमतामा ह्रास आएका) मा चाहिँ सोचेभन्दा धेरै जटिल भइदिन सक्छ। केही असजिलो भएमा आफूले चिनेजानेका स्वास्थ्यकर्मीसँग सर-सल्लाह गरौं, मद्दत गर्न धेरैजसो तयार हुनुहुन्छ। 

त्यसैले सबैलाई आग्रह गर्न चाहन्छु- सजग र सतर्क हुनूस्, सबैलाई थाहा भएकै कुरा हो, रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु असल हो। साथै आजको दिनसम्म आइपुग्दा कोभिडबाट बच्न के सतर्कता अपनाउनुपर्छ भनेर सबैलाई थाहा भइसकेको छ, त्यसैले सो ज्ञानलाई व्यवहारमा उतार्न पछि नपरौं। स्रोत -स्वास्थ्य खवर


प्रकाशित | १४ कार्तिक २०७७, शुक्रबार ११:३३