नेपालमा एकै दिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं : नेपालमा एकै दिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १८ हजार ४७३ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ३६४ जनालाई संक्रमण देखिएको हो ।

पछिल्लो २४ घन्टामा २ हजार ६७५ जना डिस्चार्ज भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा २ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

थप १२ जनाको मृत्यु

नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

८ वटा जिल्लाका ४ महिला र ८ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा ३९, धनुषामा ७० वर्षीय पुरुष, काठमाडौंमा ७९ वर्षीया महिला, ५८ र ९१ वर्षीय पुरुष, ललितपुरमा ७३ वर्षीया महिलाको मृत्यु भएको छ।

यस्तै, चितवनमा ८१, ८१ र ९२ वर्षीय पुरुष, कास्कीमा ८३ वर्षीय पुरुष र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसअघि बुधबार नेपालमा १५ जनाको मृत्यु भएको थियो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।


प्रकाशित | २२ आश्विन २०७७, बिहीबार १७:१२