पूर्ण क्षमतामा यात्रु राख्न नपाएसम्म उडान नगर्ने वायु सेवा सञ्चालक संघको निर्णय

काठमाडौं : वायु सेवा सञ्चालक संघले पूर्ण क्षमतामा यात्रु राखेर सेवा दिन नपाएसम्म उडान नगर्ने भएको छ । निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संघले आधा यात्रु मात्र राखेर उडान गर्न नसक्ने अडान राखेको हो ।

५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका उनीहरूले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा ५० प्रतिशत यात्रु राखेर उडान सम्भव नभएको बताएका हुन ।

मन्त्रालयले भने मन्त्रपरिषदबाट आधा यात्रु मात्र राख्न पाउने निर्णय भएकाले व्यवसायीलाई सोही अनुरुप गर्न भनेको छ ।

मन्त्रालयले सबैभन्दा माथिल्लो दरमा भाडा लिन पाउने प्रस्ताव व्यवसायी समक्ष गरेको छ । तर व्यवसायीले भने भाडा बढाउँदा यात्रुलाई महँगो पर्ने भएकाले यात्रु संख्या नै बढाउनु पर्ने माग गरेका छन् ।

यात्रुको संख्यामा सहमति भए असोज ५ गतेदेखि आन्तरिक उडान सुरु गर्न सकिने व्यवसायीको भनाइ छ ।


प्रकाशित | ३१ भाद्र २०७७, बुधबार २०:२४