अनौठो मनोरोग कन्भर्सन डिसअर्डर: कसरी लाग्छ? उपचार के ?

डा सिपी सेडाईं 

रमा २५ वर्षीया युवती हुन्। उनको विवाह भएको एक वर्ष भयो। उनी अहिले आफ्नो घर (श्रीमान्को घर) मा छिन्। श्रीमान् सउदी अरबमा काम गर्न गएको ६ महिना भयो, चिठी आदनप्रदान भइरहन्छ। रमाका  साथमा नन्द, देवर, सासु, ससुरा छन्।

विगत एक महिनादेखि उनमा अनौठो समस्या देखिन थाल्यो। घरमै बसिरहेका बेला एक्कासि काम्न थालिन् र बोल्न थालिन्, ‘म देवी हुँ, तँलाई मार्छु, तँलाई खान्छु, तेरो सन्तानलाई नाश गर्छु।’ यस्तो समस्या एक घन्टासम्म रह्यो। सारा मानिस जम्मा भए, सबै छक्क परे। एक घन्टापछि उनी जस्ताको तस्तै भइन्।

कति मानिसले रमालाई बोक्सी भने। कसैले देवताको रुप भने, कसैले देवताको पूजा गरी बलि दिएपछि निको हुन्छ भने। उनको समस्या त्यसै निको भएकोले त्यो दिन केही गरिएन। तर भोलिपल्ट, पर्सिपल्ट गर्दा गर्दै हालसम्म पनि उनको समस्या दिनदिनै देखा पर्छ। धामी, झाँक्री लगाइयो तर निको भएन। अहिले उनी अस्पतालमा उपचार गराइरहेकी छिन्। रमाको मनमा दबिएका कुरा बाहिर निकाल्नुका साथै औषधिको प्रयोग गर्नाले अहिले रोग निको भएको छ। यस्तो रोगलाई कन्भर्सन डिसोसिएटिभ डिसअर्डर भनिन्छ।  

मनमा रहेका आन्तरिक पीडा विभिन्न लक्षणका रुपमा देखिने रोगलाई कन्भर्सन डिसअर्डर भनिन्छ। हाम्रो समाजमा महिलाले खुला रुपमा आफ्ना समस्या बताउन नसक्नु र पीडा सहेर बस्नु यो रोगको कारण हुन जान्छ। त्यसो त पुरुषमा पनि यस्तो समस्या नभएको होइन।

वर्षौंदेखिका तितामिठा अनुभव मष्तिस्कमा जम्मा भई बसेका हुन्छन्। कतिपय यस्ता समस्या मनमा खुला रुपमा भने देखिँदैनन् तर सपनामा वा अदृश्य रुपमा बोलीमा यी कुरा निस्कन्छन्। वास्तवमा यी बेहोसी मष्तिस्कमा रहेका पीडादायी कुराहरु बिरामीलाई बाहिरी रुपमा थाहा नहुन पनि सक्छ। त्यसैले अचानक यी पीडादायी कुरा एकाएक शारीरिक लक्षणका रुपमा देखिन थाल्छन्। जस्तैः अचानक बोली रोकिने, हातखुट्टा नचल्ने, काम्ने र बक्ने आदि।

यो रोग आफैंमा अनौठो मानिन्छ। किनभने बिरामीले केही समयको लागि अनौठा लक्षण देखाउँछ। १–२ घन्टामा बिरामी जस्ताको जस्तै हुन्छ। जस्तैः श्रीमान्–श्रीमतीको बीचमा अचानक झगडा भयो। अर्काे दिन श्रीमतीको खुट्टा नचल्ने भई अस्पताल आउँछिन्। नशाको परीक्षण गर्दा सबै ठिक नै हुन्छ तर बिरामीले खुट्टा चलाउन सक्दैन। अर्काे अनौठो कुरा के छ भने, बिरामी खुट्टा चलाउन नसक्ने हुँदा पनि कुनै चिन्तित देखिँदैन। बेहोसी मस्तिष्कमा रहेको पीडाले उक्त खुट्टा नचल्ने भएको हुनाले यस्तो भएको हुन्छ। 

कतिपय बिरामीलाई बोक्सी लाग्यो भन्ने चलन पनि छ, जुन साँचो होइन, अन्धाविश्वास मात्र हो। कुखुरा, परेवा, बोका बलि दिने पुरानो रुढीवादी परम्परा गलत सावित भएको छ। हाल यस्ता खालका बिरामी विभिन्न लक्षण लिई अस्पताल आउँछन्। 
–    बिरामी ‘म अब फेन्ट हुन लागेँ’ भनेर अरुलाई बोलाउँछ र बेहोस हुन्छ। ऊ बोल्न नसक्ने हुन्छ, तर अन्य जाँच गर्दा सबै ठिक हुन्छ। बिरामी घोर रोगको बिरामी जस्तै देखिन्छ। बिरामी काम्ने र अर्काे मानिस भएर बोल्छ। जस्तैः ‘हेर हेर म तँलाई मार्छु र खान्छु’ आदि। फेरि केही समयपछि बिरामी जस्ताको तस्तै हुन्छ। 
– कोही बिरामी आँखा नदेख्ने बताउँछन्। 

–     कोही बिरामी हात वा खुट्टा नचलेको बताउँछन्, बिरामी हिँड्न सक्दैन।

–    कोही बिरामी शरीरको संवेदना थाहा पाउँदैनन्। जस्तैः हातमा छोएको थाहा हुँदैन। 

–    कोही बिरामी बोल्न सक्दैनन्। इशारा माग गर्छन्। 

–    कोही बिरामी दमको रोगी जस्तै छिटोछिटो श्वास फेर्छन्। 

–    कोही बिरामी केही समयको घटनाको बारेमा केही थाहा नभएको बताउँछन्।

–    कोही बिरामी अचानक अर्कै ठाउँमा पुग्छन्, त्यहाँ कसरी आएँ भन्ने कुनै जानकारी हुँदैन। 

–    कोही बिरामी भने उल्टो कुरा गर्ने गर्छन्। सोधिएको प्रश्नलाई बङ्ग्याई उत्तर दिने, सजिलो प्रश्नको उत्तर नदिने तर गाह्रो प्रश्नको उत्तर दिने गर्छन्, झुटो बोलेको जस्तो गर्छन्। 

त्यसो त बिरामीले जानीजानी यस्तो गरेका हुँदैनन्। बिरामीलाई किन यस्तो गरेको छु भन्ने थाहा नै हँुदैन। बिरामीले नियन्त्रण गर्दा पनि यस्तो लक्षण रोक्न सक्दैन। बोक्सी लागेको हो भन्दै बिरामीलाई कुट्ने, आगोले पोल्ने पुरानो अन्धविश्वासले गर्दा कति मानिसको अकालमा नै ज्यान गएको पाइएको छ। मनमा रहेको तनाव विचलन हुन गएकोले जसलाई डिसोसिएटिभ डिसअर्डर पनि भनिएको हो। 

बेहोसी मस्तिष्क वा भित्री मनमा रहेको अन्तरद्वन्द घटाउन गरिएको उपायको रुपमा यो रोगको लक्षणलाई लिइन्छ। जसको अझै अध्ययन गर्न बाँकी नै छ। यस्तो बिरामीको बारेमा पुरानो गलत धारणा पनि छ। पहिलो यो रोगलाई हिस्टेरिया भनिन्थ्यो। यो रोग यौन समस्याको कारणले हुन्छ पनि भनिन्थ्यो। महिलामा मात्र हुने यो रोग विवाह गरेपछि ठिक हुन्छ भन्ने धारणा थियो तर धेरै अनुसन्धानपछि यो रोग विभिन्न कारणले हुन्छ भन्ने प्रमाणित भएको छ। मनको आन्तरिक अन्तरद्वन्द यो रोगको कारण भनिन्छ। महिलामा मात्र होइन, पुरुषमा पनि यो रोग पाइन्छ। बेहोसी मस्तिष्कमा हुने कुनै पनि तनावले गर्दा यो रोग लाग्छ भन्ने प्रमाणित भएको छ। 

तनाव शारीरिक लक्षणमा परिणत हुने भएकोले यसलाई कन्भर्सन डिसअर्डर भनिएको हो। यो रोग मनमा धेरै कुरा राख्ने र मनको कुरा अरुलाई नभन्ने मानिसमा बढी पाइन्छ। प्रेसर कुकरमा तापले हावा भरिएझैं मनमा तनाव भरिइरहँदा, प्रेसर कुकरको अचानक बजेझैं अचानक बिरामी विभिन्न लक्षण देखाउँछ। यो रोग तत्कालीन तनाव बाहेक धेरै वर्षअघिको तनावले पनि ल्याउन सक्छ।  नेपालमा यो रोगका बिरामी धेरै छन्। सामाजिक रीतिरिवाज, धार्मीक विश्वास र संस्कृति अनुसार यो रोगको लक्षण फरक पर्न सक्छ। नेपालमा डिप्रेसन रोगका बिरामी पनि यो लक्षण लिई आउँछन् तर डिप्रेसन रोगका बिरामीमा यो बाहेक अन्य लक्षण पनि पाइन्छन्। 

जब मानिस यो रोगबारे बढी ध्यान दिन्छन् तब यो रोग बढ्छ। कतिपय बिरामी छारे रोगका लक्षण देखाई आउँछन् जुन मानिसको उपस्थितिमा मात्र हुन्छ। छारे रोग र कन्भर्सन डिसअर्डर लाई छुट्टाउने तरिका यस प्रकार छन्ः

छारे रोग
–    मानिसको उपस्थितिमा मात्र हुँदैन, जति बेला पनि हुनसक्छ।
–    बिरामी अचानक ढल्छ।
–    चोटपटक लाग्न सक्छ र जिभ्रो टोकिन सक्छ 
–    मुखमा फिँज आउँछ।
–    प्रायः आँखा हल्लिन्छन्।
–    निद्रामा पनि देखिन्छ।
–    प्रायः स्ट्रेस फ्याक्टर हुँदैन।

कन्भर्सन डिसोसिएटिभ डिसअर्डर
–    मानिसको उपस्थितिमा मात्र हुन्छ।
–    बिरामी आफूलाई अप्ठ्यारो भयो भनी अरुलाई बोलाउँछ।
–    प्रायः चोटपटक लाग्दैन।
–    मुखमा फिँज आउँदैन।
–    प्रायः आँखा हल्लिदैनन्। आँखा खोल्ने, बन्द गर्ने हुनसक्छ।
–    निद्रामा कहिल्यै देखिँदैन बरु ओछ्यानमा पल्टेर सोचेको बेलामा हुनसक्छ।
–    प्रायः स्ट्रेस फ्याक्टर हुन्छ।

यस्ता रोगका बिरामीको उपचार पनि चुनौतीपूर्ण नै हुन्छ। बिरामीको लक्षणलाई ध्यान दिइरहँदा अझै बढ्न जान्छ। श्वास बढेको बिरामी अघि गई आत्तिएको खन्डमा अझै बढी रुपमा रोग देखिन्छ। बिरामीअन्य कुरा गरी दिमाग अन्य कुरामा मोड्नुपर्छ। बिरामीलाई मनका कुरा खुला रुपमा भन्न प्रोत्साहन गर्नुपर्छ। बिरामीले रोगको सिकायत गर्छ, जसलाई ध्यान दिनु हँुदैन र निरुत्साहित गर्नुपर्छ। बिरामीसँग सकेसम्म थोरै मानिस बस्नुपर्छ। बिरामीलाई तत्काल अस्पताल लगी उपाचार गराउनुपर्छ। तर बिरामीलाई अन्य बिरामी अगाडि लामो समयसम्म राख्नु हुँदैन। छुट्टै कोठामा राख्नु राम्रो हुन्छ। यसरी बिरामीको लक्षणलाई बेवास्ता गर्दा रोग निको हुन सहयोग गर्छ। मनमा अन्तरद्वन्द कम गर्ने औषधिको प्रयोगबाट रोग निको हुन्छ। 

कन्भर्सन डिसअर्डरबारे जान्नैपर्ने कुरा
यस्ता बिरामीलाई कहिलेकाहीं अचानक श्वास फेर्न गाह्रो हुने, कहिले पूरै निको हुने र कहिले अत्यधिक बढ्ने हुन्छ।
–    बिरामीसँग धेरै मानिसको भीड हुनु हुँदैन। जसबाट रोग बढ्न पाउँदैन। 
–    कति बिरामीमा यो समस्या बारम्बार दोहोरिन सक्छ। तर आत्तिनु हुँदैन। २–३ हप्तामा यो समस्या विस्तार विस्तार निको हुन्छ। 
–    बिरामीको लक्षणलाई वास्ता गर्नु हुँदैन, वास्ता गरे यो रोग झन् बढ्न सक्छ। 
–    मनभित्र पीडादायी वस्तु बस्दा यस्तो हुन्छ जुन बिरामीलाई थाहा नै हुँदैन। 
–    कतिपय बिरामीलाई बोक्सीको आरोपमा कुटिन्छ जुन सतप्रतिशत गलत हो।

(डा सेडाईं नशा तथा मनोरोग विशेषज्ञ हुन्।)


प्रकाशित | ३१ भाद्र २०७७, बुधबार १२:४४