चिडियाखानाका जीवजन्तुु सङ्कटमा

ललितपुर –  कोरोना भाइरस (कोभिड–१९)का कारण सदर चिडियाखानाका वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेको छ ।

मानिसको जीवन रक्षाका लागि लामो समय बन्दको अवस्था कायम रहँदा चिडियाखानाका वन्यजन्तुको जीवनसमेत सङ्कटमा पर्न थालेको हो । आफ्नै आम्दानीमा चलिरहेको सदर चिडियाखानामा अवलोकनकर्ता आउन छाडेपछि आम्दानीको स्रोत बन्द भएसँगै समस्या थप जटिल भएको छ ।

गत चैत देखिको लगातार बन्दसँगै भ्रमणकर्ता चिडियाखाना जाने काममा रोक लगाइएको छ । त्यसका कारण वन्यजन्तुसँगै यहाँका काम गर्ने कर्मचारी पनि आर्थिक समस्यामा परेको चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले बताउनुभयो ।

वन्यजन्तु पाल्नकै लागि चिडियाखानाका कर्मचारीको तलब साउनदेखि नै आधा कटौती गरिएको छ । पोखरेलले रेखदेख र भरणपोषण गराउने कर्मचारीलाई आलोपालो गर्न नमिल्ने, त्यसैले आफू र वन्यजन्तु बचाउन तलब कटौती गरेर भए पनि चलाइरहेका छौँ भन्नुभयो ।

चिडियाखानामा ७५ जना कर्मचारी छन् । अब यस्तै भए चिडियाखाना चलाउनै नसक्ने अवस्था आउने उहाँ बताउनुहुन्छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष मातहत आएपछि सदर चिडियाखाना नयाँ रूपमा सञ्चालन भएको २५ वर्ष पूूरा भइसकेको छ । सुरुको पाँच वर्ष सरकारले दिएको बजेटमा चल्यो । त्यसपछि २० वर्ष चिडियाखानाले आफैँ आम्दानी गरेर सरकारलाई बुझाउन सफल रह्यो । अहिले सङ्कटको बेला चिडियाखानाका कर्मचारीले सरकारको सहयोगको बाटो हेरिरहेका छन् ।

पोखरेलले हाम्रो अभिभावक सरकार हो । त्यसैले आशमा छौँ भन्नुभयो । विदेशी दातासँग पनि आर्थिक सहयोगको कुरा भइरहेको छ । अन्यत्र पनि कोरानाको सङ्कट उस्तै रहेकाले दाताले सहयोग दिन्छन् भन्नेमा विश्वस्त हुन नसकिएको उहाँको भनाइ छ । चिडियाखानामा एक सय एक प्रजातिका एक हजार ५० किसिमका वन्यजन्तु र पन्छी छन् ।

हालकै अवस्था कायम रहँदा झन्डै एक वर्ष जस्तो बन्दाबन्दीको अवस्था रहने आकलन चिडियाखाना व्यवस्थापनले गरेको छ । यसका कारण एक वर्षको समयको खर्च धान्न करिब १५ करोड रुपियाँ बराबरको आर्थिक राहत तत्काल चिडियाखानालाई आवश्यक हुने चिडियाखाना व्यवस्थापनले जनाएको छ । हरेक दिन करिब चार हजार अवलोकनकर्ताले चिडियाखाना भ्रमण गर्थे । चैतदेखि त्यो क्रम ठप्प छ । बचत बापतको केही रकम व्यवस्थापन खर्चमा सकिँदै गएको छ ।

यी सबै सङ्कट हुुँदाहुुँदै पनि वन्यजन्तुलाई भोको नराख्ने प्रतिज्ञासहित कामदार र व्यवस्थापन पक्षले आफ्नै तलब कटौती गरेका हुन् । जति नै अप्ठ्यारो परे पनि वन्यजन्तुको दैनिक खुराक भने कटौती गरिएको छैन । सुक्खा खालका भण्डारणयोग्य खाद्यान्नको जोहो एक महिनाका लागि छ । चिडिया घरभित्रै बसेर सुरक्षाका सबै उपाय अपनाएर कर्मचारीलेरेखदेख र भरणपोषण गरिरहेका छन् ।


प्रकाशित | २५ भाद्र २०७७, बिहीबार ०९:१८