काठमाडौं – तीन सातादेखि जारी निषेधाज्ञा भोली राती सकिदैछ । अब निषेधाज्ञा थप्ने कि नथप्ने भन्ने विषयमा निर्णय हुन सकेको छैन । यद्यपी उपत्यका नगरपालिका मेयर फोरमले भने उपत्यकाका सबै नाकामा कडाई गरी निषेधाज्ञा खुकुलो पार्दै जान सकिने निस्कर्ष निकालेको छ ।
मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाई गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको हो ।
उपत्यका मेयर फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी सीमा नाकामा कडाई गर्नुपर्ने निर्णय भएको बताउनुभयो ।
आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यापारिक क्षेत्र र सपिङ मपलहरुमा कोभिड मापदण्ड पालना भए नभएको अनुगमन गर्ने र पालना नगर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
उद्योगभित्रै क्वारेन्टाइन निर्माण गरी मजदुर र कर्मचारी राख्ने व्यवास्था गरेपछि मात्रै उद्योग सञ्चालन गर्न दिनुपर्ने, सार्वजनिक यातायातलाई हालको लागि रोक लगाई निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्नुपर्ने लगायतका निर्णय समेत फोरमले गरेको छ ।
यसबाहेक सरकारको विरोध र समर्थनमा र्याली निकाल्ने, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न निषेध गर्नुपर्ने र जात्रा तथा सांस्कृतिक गतिविधिमा समेत रोक लगाउनुपर्ने निर्णय भएको पनि बताउनुभयो ।
प्रकाशित | २३ भाद्र २०७७, मंगलवार २०:१९