एनआरएनए अमेरिकाज् क्षेत्रको बैठक तथा क्षेत्रीय विज्ञ भेला शूरु

विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्याउन परराष्ट्रमन्त्रीको आग्रह

टेक्सस – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन शूरु भएको छ । जुम प्रविधिमार्फत भर्चुअल रुपमा आयोजना गरिएको सम्मेलन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा मन्त्री ज्ञवालीले विदेशमा कुल जनसंख्याको १५ प्रतिशत अर्थात ५ मिलीयन नेपाली मुलुक बाहिर रहेको बताउँदै मुलुकको सम्मृद्धिको लागि विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल सरकारले विदेशमा रहेका लाखौ नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि भित्याएर मुलुकको सम्मृद्धिमा लगाउन चाहेको पनि बताउनुभयो ।

नेपालमा नकारात्मक कुरामात्र नभई सकारात्मक धेरै काम भएको भन्दै प्रवासमा बस्ने नेपालीहरुलाई ढुक्क साथ मुलुकको विकास र प्रगतिमा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

नेपाललाई अप्ठ्यारो र आपत्त विपत्त पर्दा गैर आवासीय नेपालीले खेलेको भूमीका महत्वपूर्ण रहेकोमा खुसी पनि ब्यक्त गर्दै आगामी अक्टोवरमा हुने एनआरएनको दोस्रो विज्ञ सम्मेलनको लागि यस्ता सम्मेलन पूर्वतयारीमा सहयोगी बन्ने विश्वास ब्यक्त गर्नुभयो ।

त्यस्तै, गैर आवासीय नेपालीको लागि संविधानले आर्थिक, सामाजीक र साँस्कतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरिसकेको बताउँदै त्यसको कार्यान्वयन चाँडै हुने पनि बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री बालकृष्ण खाँण, , नेकपाका स्थायी समिति सदस्य पूर्वमन्त्री जनार्दन शर्मा, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, क्यानाडाका लागि राजदूत भृगु ढुंगाना, लगायतले मुलुकको सम्मृद्धिमा एनआरएनले महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गर्नुभएको थियो ।

त्यस्तै, गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले यसपटकको विज्ञ सम्मेलनलाई सबैतीरबाट निकै चासोको साथ हेरिएको बताउँदै मुलुकको सम्मृद्धिको लागि ज्ञान, सिप र प्रविधि भित्याउन एनआरएनए लागिपर्ने बताउनुभयो ।

संघको १७ वर्षे इतिहासमा ठूलो उपलब्धी हासिल गरेपनि समयसापेक्ष अगाडि बढ्न आवश्यक रहेको बताउँदै समय सापेक्ष अगाडि बढ्नको लागि संघको सांगठनीक पुनर्सरचनाको प्रस्ताव अगाडि सारिएको बताउनुभयो । संस्थालाई अझ कसरी प्रभावकारी बनाउने र विश्वभरिका नेपालीहरुको साझा संस्था बनाउने भन्ने विषयमा संघ केन्द्रित रहेकाले सोहीअनुसार प्रस्ताव अगाडि सारेको अध्यक्ष पन्तको भनाई छ ।

कार्यक्रममा एनआरएनए आइसिसीका पदाधिकारीहरु, आइसिसी सल्लाहकार हरिबोल भण्डारी, आइसिसी सल्लाहकार कुल आचार्य,  महिला नेत्री अञ्जनी श्रेष्ठ, एनआरएनए अमेरिका क्षेत्रका उपसंयोजक रामसी पोखरेल, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, ज्ञान सम्मेलनका संयोजक लक्ष्मी पाठक, आइसिसी सदस्य तथा कार्यक्रम संयोजक गोपीकृष्ण काफ्ले, आइसिसी सदस्यहरु, अमेरिका, क्यानडा एनसिसीका पदाधिकारीहरु, विभिन्न समितिका संयोजक तथा सदस्यहरु लगायतले नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीले सकारात्मक ढङ्गबाट सहयोगीको भूमिका निभाउनुपर्नेमा जोड दिनुभएको थियो ।

एनआरएन क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले स्वागत गर्नुभएको कार्यक्रम एनआरएनए अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम आइसिसी सदस्य प्रमोद सिटौला र डोल्मा शेर्पाले सञ्चालन गर्नुभएको थियो ।

एनआएनए क्यानडाले संयोजन गरेको सम्मेलनको लागि डा. लक्ष्मी पाठकको संयोजकत्वमा डा. आमोद पोख्रेल र नारायण घिमिरे सम्मिलीत एक विज्ञ समूह गठन गरिएको थियो ।

आज ५ तारिखमा विभिन्न सेसनहरु हुनेछ भने सेप्टेम्बर ६ मा ज्ञान सम्मेलन तथा समापन कार्यक्रम हुने क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी गराउनुभयो ।


प्रकाशित | २० भाद्र २०७७, शनिबार १२:३६