स-परिवार कोरोना संक्रमित म एक स्वास्थ्यकर्मी

आइसोलेसनबाटै प्रश्न- संक्रमितलाई सामाजिक भेदभाव र अवहेलना किन?

मीनराज जोशी

साउन अन्तिमतिर स्वास्थ्य कार्यालय दार्चुलाबाट जुन खबर आयो, त्यसले निकै असजिलो महसुस गरायो। लामो मिहिनेतले नियन्त्रण भइसकेको भ्यागुते रोग एक्कासि समुदायमा देखापर्नु राष्ट्रिय खोप कार्यक्रमका लागि नै शुभ लक्षण थिएन।

चालु आवमा प्रदेश स्तरबाट सञ्चालन गरिने स्वास्थ्यका कार्यक्रमको कार्य सञ्चालन निर्देशिका बनाउने र सँगसँगै कोभिड–१९ र अन्य नियमित क्रियाकलापको व्यस्तताले शरीरमा फरक किसिमको थकावट महसुस भइरहेको थियो। थला नपरुन्जेल बिरामी भएको महसुस नगर्ने र अन्तिम अवस्थामा मात्र स्वास्थ्यकर्मीको सम्पर्कमा जाने आम नेपालीको जस्तो बानीबाट म पनि अछुतो छैन।

मेरो झोलामा दुखाइ कम गर्ने, बान्ता रोक्ने, ग्यास्ट्रिक र एन्टिबायोटिक गरी हरेकको एक पत्ता सदैव रहिरहन्छ। यस पल्ट पनि त्यस्तै भयो, ज्वरो आउला जस्तो, जिउ दुखे जस्तो, शरीरमा थकान भए जस्तो। आफूसँग भएको प्राथमिक उपचारको सामग्री लिएँ र पूर्ववत् रुपमा काम गर्नका लागि शरीरलाई बाध्य बनाएँ।

दार्चुलामा आउटबे्रक भएको भ्यागुते रोगको समुदाय स्तरमा खोज पड्ताल र प्रभावितको उपचार व्यवस्थापन समेत गर्नुपर्ने निर्देशकज्यू र परिवार कल्याण महाशाखाबाट निर्देशन  भएपश्चात् सर्भिलेन्स मेडिकल अफिसर र जिल्लाका खोप अधिकृत सहितको टोली बनाई दार्चुलाको यात्रा तह भयो। तर शरीरको अवस्था अनुकुल थिएन। जिम्मेवार निकायमा बसेर जिम्मेवारी लिइसकेपछि सधैं आफ्नो अनुकुल मात्रै हेर्नु नैतिकताले पनि दिँदैन, त्यसमा पनि निर्देशक डा गुणराज अवस्थीसँग काम गर्नुपर्‍यो भने उहाँको स्पिडसँग आफूलाई अनुकुल बनाउँदै लानुपर्ने हुन्छ, अन्यथा पछाडि छुट्ने सम्भावना सदैव रहिरहन्छ। यसै कुराले हामीलाई आफ्नो काम समयमै सम्पन्न गर्न पे्ररित गरिरहन्छ।

पूर्वनिर्धारित समयअनुसार हामी दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाका लागि प्रस्थान गर्‍यौं। यात्राको दौरान प्रायः मलाई केही असहज महसुस भइरहन्छ र यस पटक पनि यसैको निरन्तरताको रुपमा चित्त बुझाएँ। डडेल्धुराबाट थप उकालो लागेपछि वाकवाकीसँगै रिंगटा लागे जस्तो महसुस हुन थाल्यो तैपनि आफ्नो जिम्मेवारीले हार मान्न दिएन। मानसिक रुपमा शसक्त भए पनि शारीरिक रुपले अशक्त भएको महसुस त्यतिबेला भयो जतिबेला खोड्पे र पाटनको मध्यतिर गाडीबाट ओर्लिन खोज्दा आँखामा अन्धकार छायो र आँखा खोल्दा सहयात्री तिनै जना मलाई बीच सडकबाट उठाउने असफल प्रयास गरिरहेका थिए। जिउ सयौं मान्छेले एकै पटक कुटेको जसरी दुखिरहेको थियो। बेहोसीमा सडकमा पछारिँदा अनुहार र शरीरका अन्य भागमा सामान्य चोट लागेर रगत बगिरहेको थियो।

केही छिनको विश्रामपछि फेरि यात्रा निरन्तर अगाडि बढ्यो। बाटोमा पर्ने पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य चेकजाँच गर्दा रक्तचाप अलि घटेको प्रमाणित भयो। त्यसैको कारणले अघिको घटना भएको निष्कर्ष निकालें। गाडीको बाटो सकिएपछि भ्यागुते रोग फैलिएको भनिएकोे समुदायसम्म पुग्न झन्डै दुई घन्टाको पैदल यात्रा गर्नुपर्‍यो र समुदायको अवस्था मूल्यांकन गर्दै जाँदा घरका अधिकांश बालबालिकाले एउटा पनि खोप नलगाएको पाइयो। सबै बालबालिका १२ वर्ष माथिका भएकाले पुरानो कुरा कोट्याउनु उचित लागेन। परिवार कल्याण महाशाखाले उपलब्ध गराएको गाइडलाइन बमोजिम शंकास्पद बिरामीको व्यवस्थापन गर्ने कार्य सम्पन्न भयो।

पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरी फर्किने बेलासम्म शरीरमा थप कमजोरी तथा स्वाद र गन्धको भेउ नपाउने अवस्था सिर्जना भइसकेको थियो तापनि मैले कोरोना संक्रमणको आशंका गर्न सकिनँ।

घर फर्किंदा श्रीमती र छोरीलाई झन्डै मेरो जस्तैः लक्षण देखिन थालिसकेको थियो। सेती अस्पतालमा नर्सको रुपमा कार्यरत मेरी श्रीमतीले भोलिपल्ट नै पिसिआर परीक्षणका लागि स्याम्पल दिइन्, जसको नतिजाले एकछिनका लागि रनभुल्लमा पार्‍यो। भोलिपल्ट मेरो र छोरीको परीक्षण समेत पोजेटिभ आएपछि हामीलाई केही समय निर्णय शून्यताको अवस्थामा पु¥यायो। अवस्था जति नै खराब भए पनि आफैंले आफैंलाई सम्हाल्नुको विकल्प हामीसँग थिएन। अन्त्यमा हाल बसिरहेको क्वाटर (डेरा) मा सेल्फ आइसोलेसन बस्ने निर्णय गरियो जुन आजका मितिसम्म निरन्तर चलिरहेको छ।

सामाजिक अवहेलना
घटना १ः
 हामी सपरिवार संक्रमित भएको सूचना म तिनै व्यक्तिलाई मात्रै दिन चाहन्थें जो पछिल्लो केही समय म र मेरो परिवारको सम्पर्कमा आएका थिए, जुन कुरा कन्ट्याक्ट ट्रेसिङका लागि महत्वपुर्ण मानिन्छ। तर मेरो डेरा सँगैको क्वाटरमा बस्ने धिरज बोहरा नाम गरेको एक जना व्यक्तिले परिवारको विवरण खुल्नेगरी सामाजिक सञ्जालमार्फत अपमानजनक तवरले क्वाटरमै आइसोलेसनमा बसेको कुरा सार्वजनिक गरे जुन मेरो नजरमा अनैतिक र कानुनी हिसाबले गैरकानुनी थियो। यो कुराले मलाई असाध्यै आक्रोसित बनायो। तर विस्तारै तिनको पृष्ठभूमि सम्झिएँ। ती व्यक्तिबाट यत्तिको व्यवहार हुनु स्वभाविक झैं लाग्यो।

घटना २ः लामो समयदेखि सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालय विरुद्ध पित पत्रकारिता गर्दै आएको दिनेश खबर पत्रिकाले मेरो व्यक्तिगत विवरणको हेडलाइन बनाउँदै समाचार सार्वजनिक गरी थप मर्माहत बनायो, जुन कुरा नेपालको संविधान प्रदत्त गोपनीयताको मौलिक हक विरुद्ध थियो।

माथि उल्लेखित घटना आइसोलेसन सुरु भएदेखि भोग्दै आइरहेका सामाजिक अवहेलनाका प्रतिनिधि घटना मात्रै हुन्। विगत केही दिनदेखि यस्ता सामाजिक भेदभाव र अवहेलनाको पुलिन्दा तयार भएको छ। हामी स्वास्थ्यकर्मी कर्तव्य पालनको सिलसिलामा कोरोनाको संक्रमण हुनु सामान्य कुरा हो। तर समाजमा भएका धिरज बोहरा र दिनेश खबर जस्ता कुपात्रहरुले संक्रमणलाई अपराध जसरी वर्णन गर्नु आफैंमा निकृष्ट कार्य हो।

सरकारसँग अपेक्षा 
– देशमा बन्दाबन्दी भएपश्चात् देशको स्थायी सरकार भनिएको प्रशासनतन्त्र झन्डै घरमा बसीबसी तलब भत्ता लगायतका सेवा–सुविधा निष्फिक्री ढंगले खाइरहेकै छ। बाँकी राज्यको नजरमा हेपिएका र छिटफुट लाग्ने स्वास्थ्यकर्मीहरु दिनरात नभनी आफ्नो जिम्मेवारी पूरा गरिरहेकै छन् जसले गर्दा स्वास्थ्यकर्मी र निजका परिवार समेत संक्रमित हुने संख्या दिनदिनै बढिरहेको छ र सँगसँगै सामाजिक अवहेलना र दुव्र्यवहारका घटनामा समेत वृद्धि भइरहेको छ। यस्तो बेलामा राज्यका प्रशासनिक निकायमा बस्ने व्यक्तित्वहरुले संक्रमण रोग ऐन २०२० र मुलुकी अपराध संहिताको बारेमा अन्तर्वार्ता मात्रै दिँदै हिँड्नुभन्दा सामाजिक दुव्र्यवहार गर्ने यस्ता व्यक्ति, संस्थालाई कानुन बमोजिम कारबाही गरी संक्रमितको मनोबल उच्च बनाउनुपर्ने देखिन्छ। 

– हरेक दिन कोराना संक्रमितको संख्या बढिरहेको छ र नियन्त्रण हुने नामोनिसान छैन। सीमित स्रोत–साधन भएको हाम्रो जस्तो देशमा संक्रमितको संख्या यसरी तीव्र गतिमा वृद्धि हुनु शुभसंकेत होइन। पिवश्व स्वास्थ्य संगठनका अनुसार पनि जम्मा संक्रमितको झन्डै बीस प्रतिशतमा सामान्यदेखि जटिल लक्षणहरु देखिने र यीमध्ये केहीलाई अक्सिजन सप्लाईको आवश्यकता पर्ने र केहीलाई सघन अपचार कक्षमा राखी उपचार गर्नुपर्ने हुन्छ। संक्रमितको संख्या यसरी दिनदिनै बढ्दै जाने हो भने सबै लक्षण भएका बिरामीलाई अस्पतालमा भर्ना गरेर राख्न नसक्ने अवस्था आउँछ। यस्तो अवस्था आउनु अगावै सरकारले निजी क्षेत्र र समुदायसँग मिलेर समुदाय स्तरमा अक्सिजन सिलिन्डर र बिरामीको रगतमा अक्सिजनको मात्रा पत्ता लगाउने मेसिन उपलब्धताको सुनिश्चितता गर्नुपपर्छ। यसले लक्षण भएका र अक्सिजनको मात्रै आवश्यकता भएका बिरामीको समुदाय स्तरमै व्यवस्थापन गर्न सहज हुनेछ। साथै अस्पतालहरुमा जटिल समस्या भएका बिरामीहरुको व्यवस्थापन सहजता ढंगले गर्न सकिने छ।

अन्त्यमा 
कोरोना संक्रमण कुनै अपराध होइन, यो एउटा रोगमात्रै हो। कोरोना संक्रमितलाई अपराधीको जस्तो व्यवहार नगरौं। कति जना त तपाईंको उपचार, तपाईं र तपाईंको परिवारलाई सुरक्षा प्रदान गर्ने दौरानमा संक्रमित भएका छन्। यतिबेला उनीहरुलाई तपाईंको मिठो बाली, सदभाव र सान्त्वनाको खाँचो छ। त्यसैले सकिन्छ सदभाव देखाऔं, सकिँदैन भेदभाव नगरौं। किनकी यो घटना तपाईंको जीवनमा समेत घटने उत्तिकै सम्भावना छ। स्रोत- स्वास्थ्य खवर

(स्वास्थ्य निर्देशनालय, दीपायल, डोटीमा कार्यरत जोशी सपरिवार कोरोना संक्रमित भई हाल धनगढी कैलालीमा सेल्फ आइसोलेसनमा बसिरहेका छन्।) 


प्रकाशित | १८ भाद्र २०७७, बिहीबार १९:५७