कोभिड-१९ संक्रमणबारे २१ भ्रम र यथार्थ

डा जयप्रकाश साह 

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड-१९) श्वास-प्रश्वासको माध्यमबाट सर्ने रोग हो। संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट अर्को व्यक्तिमा यो भाइरस सर्छ। कोभिड-१९ का बिरामीलाई ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने,  जिउ गह्रुङ्गो लाग्ने, झाडा-पखाला लाग्ने, जिब्रोले स्वाद नपाउने  जस्ता लक्षण देखा पर्छन्।

यस्ता लक्षण कोभिड-१९ का धेरै बिरामीमा नदेखिएको कारणले गर्दा धेरैले हेलचेक्र्याइँ गरेको, बेवास्ता गरेको र हामी माझ धेरै भ्रम फैलिएको छ, जसको फलस्वरुप यो महामारीले व्यापक रुप लिएको अवस्था छ। त्यसकारण यो रोगको संक्रमणबाट बच्नको लागि समाजमा फैलिएका भ्रम निराकरणको आवश्यकता छ।  

भ्रम र यथार्थ 
१. तुलसीको पात हाली पकाएको कालो चिया प्रत्येक दिन बिहान-बेलुका पिउनाले कोभिड-१९ संक्रमण हुँदैन। 

यो कुराको वैज्ञानिक आधार अहिलेसम्म भेटिएको छैन। त्यसकारण यस्तो कुरामा विश्वास गर्नु आफूले आफैंलाई कोभिड-१९ को संक्रमणको चपेटमा ल्याउनु हो। 

२. धेरै पानी पिउनाले कोभिड-१९ को भाइरस शरीरबाट बाहिर निस्किहाल्छ। 

 कोभिड-१९ को भाइरस श्वास-प्रश्वास प्रणालीमा हुन्छ। हामी पानी मुखबाट पिउँछौ जुन श्वास-प्रश्वास प्रणालीमा गयो भने अझ बढी समस्याको सामना गर्नुपर्ने हुन्छ। त्यसकारण यो विचार पूरै निराधार हो। 

३. रक्सी खाएपछि कोभिड-१९ भाइरस मर्छ।  

रक्सी खाएपछि बिरामी मान्छेको शरीरभित्र छिरिसकेको भाइरस त मर्दैन तर बिरामीको स्वास्थ्य समस्या अझ बढ्छ। साथै प्रतिरक्षा शक्ति कमजोर भएर छिटो निको हुने सम्भावना घट्छ। 

४. मौसम बदलिएपछि कोभिड-१९ भाइरस संक्रमण आफैं निराकरण हुन्छ। 

यो कुरा पूर्ण रुपमा निराधार छ किनकी कोभिड-१९ भाइरसको संक्रमण संसारका लगभग सबै देशमा छ। मौसमको कुरा गर्ने हो भने कुनै देशमा अहिले गर्मी छ त कुनै देशमा चिसो। न्युजिल्यान्‍ड जस्ता देशमा मौसम बदइलिसकेको छ तर पनि कोभिड-१९ को संक्रमण रोकिएको छैन।

५. धूमपान गरेपछि यसको धुवाबाट श्वास-प्रश्वास प्रणालीमा भएका कोभिड-१९ भाइरस मर्छन्। 

धूमपानको धुवाँबाट कोभिड-१९ भाइरस मरेको प्रमाण अहिलेसम्म भेटिएको छैन। बरु धूमपान गर्नाले श्वास-प्रश्वासको समस्या अझ बढ्छ। 

६. सन्तुलित आहार खाने मान्छेलाई कोभिड-१९ भाइरस संक्रमण हुँदैन। 

प्रत्येक दिन सन्तुलित आहार लिनाले प्रतिरक्षा शक्तिलाई टेवा पुग्छ तर यसको मतलब यो होइन कि, सन्तुलित आहार खाएर आफ्नो स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्नु र कोभिड-१९ को संक्रमणबाट बच्ने उपायहरूलाई सिधै बेवास्ता गर्नु। यसो गर्दा यो महामारी सर्ने सम्भावना प्रबल हुन्छ।  

७. पेटमा उत्पन्न हुने अम्लले कोभिड-१९ भाइरस मर्छ। 

कोभिड-१९ भाइरस श्वास-प्रश्वास प्रणालीमा रहेर श्वास-प्रश्वासको समस्या उत्पन गराउँछ। पेटमा भएको अम्लले यो भाइरस मार्ने तरिका निराधार हो। यस्तो किसिमको तथ्य अहिलेसम्म फेला परेको छैन। 

८. कोभिड-१९ भाइरस फोहोर-नालाको दूषित पानीबाट पनि सर्छ। 

यो भाइरस भनेको आरएनए भाइरस हो जुन असाध्यै अस्थिर पदार्थ हो। धेरै बेरसम्म खुला वातावरणमा बाँच्न सक्दैन। त्यसकारण यस्तो प्रक्रियाबाट कोभिड-१९ भाइरस सर्ने तथ्यहरू अहिलेसम्म भेटिएको छैन।  

९. बच्चामा कोभिड-१९ संक्रमण हुने सम्भावना न्यून छ।  

यो भाइरस जुनसुकै उमेरमा लाग्छ तर यसको जटिलता प्रतिरक्षा शक्ति कम भएको बिरामीमा छिटो देखा पर्छ।

१०. चिसो मौसममा कोभिड-१९ भाइरसको संक्रमण हुँदैन। 

यो पनि एक किसिमको भ्रम मात्र हो किनकी संसारका धेरै देशमा अहिले चिसो मौसम छ तर कोभिड-१९ संक्रमण नेपाल जस्तै तीव्र गतिमा फैलिरहेको छ।

११. प्रत्येक दिन तातो-पानीले नुहाएमा कोभिड-१९ को संक्रमण हुँदैन। 

यो पनि एक मिथ्या मात्र हो किनकी शरीरको तापक्रम ३७०C हुन्छ तर कोभिड-१९ भाइरस मर्नको लागि ५६०C चाहिन्छ जुन तापक्रममा हामी नुहाउन सक्दैनौं र नुहाउने तापक्रममा यो भाइरस मर्न सक्दैन। 

१२. लामखुट्टेको टोकाइबाट कोभिड-१९ भाइरस सर्छ। 

अहिलेसम्म यस्तो प्रमाण फेला परेको छैन। 

१३. युभी किरण, एयर ड्रायर, तातो ड्रायर (हात को लागि) को प्रयोगले कोभिड-१९ भाइरस मर्छ। 

विश्व स्वास्थ्य संगठनले युभी किरणको प्रयोग गरी कोभिड-१९ भाइरस निर्मुलीकरण गर्नु हुने सल्लाह दिएको छैन किनकी यो किरणले अझ धेरै समस्या उत्पन्न गरिदिन्छ। जस्तै- छाला जल्नु, क्यान्सर आदि।  त्यस्तै एयर ड्रायर र तातो ड्रायरहरूले कोभिड-१९ भाइरस निर्मुलीकरण गरेका प्रमाणहरू अहिलेसम्म छैन। 

१४. कोभिड-१९ संक्रमित बिरामीलाई रक्सीले नुहाइदिएमा यो भाइरस मर्छ। 

कोभिड-१९ संक्रमित बिरामीमा यो भाइरस शरीरभित्र हुन्छ। बरु शरीर बाहिर भएको भाइरस केही हदसम्म मर्ने सम्भावना हुन्छ तर रक्सीले नुहाइदिएमा चाहिँ शरीर भित्रको भाइरस मरेर रोग निको हुन्छ भन्ने कुरा निराधार हो। 

१५ लसुन र अदुवा खानाले कोभिड-१९ संक्रमण हुँदैन। 

अहिलेसम्म यस्तो प्रमाण भेटिएको छैन। 

१६. पिरो खाना खाएमा कोभिड-१९ संक्रमण हुँदैन। 

यो कुरा पनि तथ्य विहीन छ। 

१७. कोभिड-१९ भाइरस दिसाबाट पनि सर्छ। 

यस्तो कुरा पनि अहिलेसम्म पुष्टि भएको छैन। 

१८. कोभिड-१९ संक्रमितले एन्टिबायोटिक औषधि सेवन गरेमा यो रोग निको हुन्छ। 

एन्टिबायोटिक औषधि सेवन व्याक्टेरिया संक्रमणको लागि हो। यो औषधिले भाइरसमाथि काम गर्दैन। त्यसकारण कोभिड-१९ संक्रमणको उपचारको लागि एन्टिबायोटिक औषधि सेवन गर्नुको कुनै फाइदा छैन। साथै यो महामारीको लागि अहिलेसम्म भरपर्दो औषधि पनि छैन।  

१९. प्रत्येक दिन राम्ररी कुल्ला गर्नाले कोभिड-१९ रोग निको हुन्छ। 

कुल्ला गर्नाले साधारण चिसो छिटो निको हुन्छ तर कोभिड-१९ भाइरस संक्रमण रोग नियन्त्रण गर्छ भन्ने प्रमाण अहिलेसम्म पत्ता लागेको छैन। 

२०. निमोनिया खोपले कोभिड-१९ महामारी निको हुन्छ। 
अहिलेसम्म निमोनिया खोपले कोभिड-१९ महामारी निको हुन्छ भन्ने प्रमाणित भएको छैन र कोभिड-१९ को लागि सबै प्रक्रिया पूरा गरेको तथा विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोप अहिलेसम्म उपलब्ध भएको छैन। 

२१. भिटामिन सी स्रोत भएको खाना दिनहुँ खाएमा कोभिड-१९ संक्रमण हुँदैन। 

भिटामिन सीले हाम्रो शरीरको प्रतिरक्षा शक्ति (इम्युनिटी) लाई सन्तुलन गराउँछ तर यसले कोभिड-१९ संक्रमणबाट बचाउँछ भन्ने प्रमाण भेटिएको छैन। 

यी माथि उल्लेखित भ्रममा पर्नु आफूले आफैंलाई कोभिड-१९ भाइरस संक्रमणको निम्तो दिनु हो। त्यसकारण यी भ्रममा नपरी विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको कोभिड-१९ सम्बन्धि नियमहरुलाई पालन गरी आफू पनि बाच्ने र अरुलाई पनि बचाउने प्रयासको खाँचो छ।     

भ्रमबाट बच्ने र बचाउने उपाय
व्यक्तिको तर्फबाट

१. प्रत्येक दिन कोभिड-१९ का समाचार हेर्नु र हेर्न लगाउनु। 

२. भ्रम फैलाउने समाचार नहेर्नु र अरुलाई पनि नहेर्न सल्लाह दिनु। 

३. भ्रम फैलाउने कुराहरु थाहा पाएमा सत्य-तथ्य पता लगाई आफू र अरुको माझ पनि पुर्‍याउनु। 

४. कोभिड-१९ संक्रमणको डर आफूभित्र कायम राख्नु र अरुलाई पनि कायम राख्न प्रोत्साहन गर्नु।

५. स्वास्थ्य विज्ञ (डाक्टर, मेडिकल एक्सपर्ट) को नजिक रहनु तथा उहाँहरुको विचार, जिज्ञासा र सुझाव सधैं मान्नु। 

६. बिना प्रमाणका भ्रममाथि विश्वास नगर्नु। 

सरकारको तर्फबाट
१. कोभिड-१९ संक्रमण सम्बन्धी सामाजिक जागरुकताका कार्यक्रमहरु (सोसियल अवेरनेस प्रोग्रामहरु) नियमित रुपमा गराउनु। 

२. समाजमा फैलिएका भ्रमहरुलाई खण्डन गर्न स्वास्थ्य विज्ञको विचार, जिज्ञासा र सुझावहरु टिभी, रेडियो, एफएमबाट नियमित रुपमा प्रस्तुत गर्न लगाउनु। स्वास्थ्य विज्ञले पनि सत्यतथ्य सरल भाषामा जनता माझ राख्नु। स्वास्थ्य विज्ञले प्रसारण गर्ने ठाउँमा बोल्ने भाषामा प्रस्तुत गर्नु। 

३. सरकारले मोबाइल फोनबाट एसएमएस र एमएमएसको माध्यमबाट जनमानसमा फैलिएको भ्रमको बारेमा बेला- बेलामा स्वास्थ्य विज्ञको राय, सर-सल्लाह, विचार पठाउनु र यस्ता मिथ्याहरुलाई विश्वास नगर्न अनुरोध गर्नु। 

४. सरकारले प्रत्येक नगरपालिका/गाउँपालिकाको प्रत्येक वार्डमा कोभिड-१९ महामारी सम्बन्धी जनचेतना जगाउन तथा महामारी सम्बन्धी समाचारहरु सरकार सामु राख्नको लागि एक सदस्य नियुक्ति गर्नु। 

५. जनमानसमा कोभिड-१९ संक्रमणको जनचेतना जगाउन व्यक्तिको अवस्था हेरी क्वारेन्टाइन र आइसोलेसनको खर्च बिरामी स्वयंले तिर्ने नियम लगाउनु। यसो गरेको खण्डमा जनमानसमा एक किसिमको पैसा खर्च हुने त्रास आउँछ र सावधान हुन थाल्छ। साथै देशको अर्थतन्त्रलाई पनि टेवा पुग्छ। 

६. भ्रम फैलाउने व्यक्तिलाई नेपाल सरकारको कानुन बमोजिम सजायको व्यवस्था गर्नु। स्रोत- स्वास्थ्य खवर

(डा साह पोखरा विश्वविद्यालयका उप-प्राध्यापक हुन्।)


प्रकाशित | १० भाद्र २०७७, बुधबार १०:५७