चितवनकी कोरोना संक्रमित नर्स भन्छिन – म हारेको छैन झन म मा मनोबल दह्रो भएको छ

सिम्रन तिवारी

काम गर्दै गर्दा कोरोना संक्रमित भएछु , स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद । म एक नर्स म आफ्नो पेशामा गर्ब गर्छु।

मलाइ थाहा छ कि म केवल सर्टिफिकेटका लागि मात्र पढेको होइन जस्तो सुकै अवस्थामा पनि बिरामीको सेवा गर्न सकु र गर्छु भनेर नर्स पेशा अंगालेको हुँ। आफ्ना ब्यक्तिगत कुराहरुलाई त्यागेर निरन्तर रुपमा बिरामीको सेवामा लागिरहेको पनि केहि बर्ष भैसकेछ । काम गर्दै गर्दा यो अवस्था आउछ होला भन्ने सोचेका थिएनौ ।

तर एक्कासी संसारलाई नै तर्साउने गरि कोरोना भाइरस फैलियो। कयौ देशहरुमा हजारौ नागरिकको ज्यान गयो। बिस्तारै अवस्था जटिल बन्दै गयो। बिस्तारै संक्रमितहरु नेपालमा पनि देखिन थाल्यो। तर कहिल्यै हतोत्साहित नभै निरन्तर आफ्नो कर्ममा लागिरहे, मैले सोचे कि म एकजना नर्सले गार्हो हुने भयो म संक्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने हालत के होला भन्ने सोचेर अग्रजहरुको सल्लाह सुझाबलाई ग्रहण गर्दै काममा लागिरहे ।

घरमा बुवाआमा भाईबहिनीहरुलाई आफैले सम्झाए । म मा मात्र सिमित छैन बाबा ममी मैले समाजका लागि काम गर्नु पर्छ म यतिखेर घरमा काम नगरि बस्ने हो भने मैले नर्स पेसा अगालेको अर्थ हुदैन नआतिनु म सुरक्षित भएर बिरामीको सेवा गर्नेछु भनेर घर परिवारलाई सम्झाउदै आफ्नो कर्ममा लागिरहे । कयौ रात बाबा ममी निदाउनुभएको छैन कतै छोरी संंक्रमित त हुनेहोइन भनेर भोलि समाजले के भन्ला छि छि र दुर गर्ला भन्ने चिन्तामा परिवार हुनुहुन्थ्यो । केहि दिन अगाडी अस्पतालमा उपचार गरिरहनुभएका बिरामीमा कोरोना पोजेटिभ भयो रे भन्ने सुने उहाँ हरुलाई सधै हामीले रेखदेख गरिरहेका हुन्थ्यौ। एक्कासि त्यस्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु । पछि आफुलाई समाले त्यसपछि हामीलाई छुट्टै ठाउँमा राखियो । त्यसको पर्सि पल्ट म लगायत हामी साथीहरुको कोरोना परिक्षणका लागि स्वाब लगियो नभन्दै हामीमा कोरोना देखिएको रिपोर्ट आयो। एकछिन तनाबमा रहे कसरी घरमा भन्ने होला, अब के हुने हो भन्ने भयो।

म आफुलाई समाले, मैले आज कमजोर महसुस गरे भने मेरो परिवारलाई चिन्ता हुन्छ। समाजलाई चिन्ता पर्छ मैले मनोबल धरो बनाउनुपर्छ भन्ने सोचेर अहिले आफ्नो मनोबल उच्चो बनाएर मैले यो रोगलाई परास्त गर्छु भन्ने आत्म बिश्वास लिएको छु, फेरि परास्त गर्छु पनि। आज मलाई गर्ब छ म आत्तिएकी छैन बिरामीको सेवा गर्दा म कर्म पुरा गर्दा म संक्रमित भएकी हुँ । हामी संक्रमितलाई समाजले हेर्ने नजर राम्रो बनोस्। हामीले रोग रहरले सारेका हैनौ। आफ्नो जिम्मेवारी पुरा गर्दा हो। पहिला नै हामी डराएर बिरामीको सेवा नगरेको भए बिरामीको अवस्था के हुन्थ्यो । सबैको सोच सकारात्मक बनोस्। संक्रमित नर्स डाक्टर सुरक्षाकर्मी लगायत आम नागरिकलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने हाम्रो केयर गर्नुहुने अस्पताल प्रशासन , डाक्टर , नर्स, परिवार, साथी भाई, आफन्तजन, समाजका सबै नागरिकहरु प्रति अस्पतालको बेडबाट धन्यवाद ब्यक्त गर्दछु। सन्चो भएसी उही मनोबलका साथ हजारौ बिरामीको सेवा गर्नेछु। मलाई नर्स हुनुमा गर्ब छ ।

बाबा मामु नआत्तिनु हजुरको छोरी झन मनोबल धरो बनाएर रोगलाई परास्त गरेर कर्ममा फर्किन्छे। म हारेको छैन झन म मा मनोबल दह्रो भएको छ ।

तिवारी भरतपुर सेन्ट्रल अस्पताल भरतपुरमा विगत साढे दुई वर्षदेखि काम गर्दै आउनुभएको छ ।


प्रकाशित | ५ भाद्र २०७७, शुक्रबार ०८:१०