निषेधाज्ञामा कडाइ : उल्लंघन गर्ने १२ सय जना नियन्त्रणमा

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा कडाईका साथ लागू गरिएको छ । हिजो रातिदेखि लगाइएको निषेधाज्ञा कडाईका साथ लागू गरिएको हो । आज बिहान मात्र काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्ने १२ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाइएको होल्डिङ सेन्टरमा राखेको छ । निषेधाज्ञा उल्लङ्घन गर्दै चलाइएका दुई र चार पाङग्रे गरेर ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ।

उपत्यकामा कडाइका साथ निषेधाज्ञा लागू भएपछि आज बिहानैदेखि उपत्यकाका सडक र मुख्य चोकहरू सुनसान भएका छन् । चोक चोकमा प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।

काठमाडौं उपत्यकाको भक्तपुर, काठमाडौं र ललितपुरमा निषेधाज्ञा लागू भएसँगै चोकहरूमा सुरक्षाकर्मी बाक्लो संख्यामा खटिएका छन् ।

अत्यावश्यक काम बाहेक हिंड्नेलाई प्रहरीले रोकिरहेको छ । मर्निङ वाकमा समेत ननिस्कन प्रहरीले आग्रह गरेको छ । स्थानीय प्रशासनले उपत्यकामा कोरोना संक्रमण तीब्ररुपमा फैलिइरहेका कारण घर बाहिर ननिस्कन माइकिङ्ग गर्दै सर्वसाधरणलाई सूचित गराउँदै आएको छ ।


प्रकाशित | ४ भाद्र २०७७, बिहीबार ११:१९