कुरैकुरा

राजु सप्तडी बस्नेत /पेरिस

कुरैले पकाई, कुरैले चपाई ,कुरैको दिन्छन पुरी तरकारी
राजनिती सपारी मुलुक बिगारी,मान्छे बने कुरैको व्यापारी

एउटा कुरा व्यय गरेर अर्कै कुरा तय गर्छन
दुइपैसे कुरो क्रय गरेर उता लाभ सय गर्छन
यहाँ कुरै कुराका छन चौतारी ,एउटै जुनीमा दश औतारी
कुरैले सताई ,कुरैले थकाई, कुरैले हकारी पकारी
राजनीति सपारी मुलुक बिगारी, मान्छे बने कुरैको व्यापारी

कुरै कुरामा शंका उठ्छन्, कुरै कुरामा लङ्का जल्छन
कुरै कुरामा हावा चल्छ, कुरै कुरामा उल्का झर्छन
यहाँ कुरै कुराले समिप छन, कोही कुरै कुराले कोशौं पारी
कुरैको अदालत, कुरैको वकालत, कुरैले चोखिन्छ भ्रष्टाचारी
राजनीति सपारी मुलुक बिगारी, मान्छे बने कुरैको व्यापारी

कुराले भुकम्प गएका छन, कुराले नै फुट्छन ज्वालामुखी
कुरालाई यतै थाँती राखेर कहिले होलान यी अन्तर्मुखी
यो कुरै कुराले जहाज डुब्छ, यी कुरा हुन विनासकारी
खै कुरा नीतिको ? खै कुरा थितीको ? व्यर्थ विवाद मारामारी
चार मुख चारतिर पारी, कुरै कुरामा अल्झे सिद्रा ब्यापारी
राजनीति सपारी मुलुक बिगारी, मान्छे बने कुरैको व्यापारी

जन्मिँदा शुल्क, यहाँ मर्दा नी शुल्क, थरी थरी करहरु
अहिले खाए भरे छैन, भरे खाए भोलि छैन, तिनै स्थायी डरहरु
कुरैको साम्यवाद कुरैको समाजवाद कुरैको सामाजिक न्याय
हिजो लड्नेले, प्राण आहुती दिनेले, खै आज के कुरा पाय ?
खै कुरा नैतिक ? खै कुरा सैद्धान्तिक ? जिवनशैली राजै हाराहारी
अवसर छोप्छन यही बेला दलाल ,देशले भोग्दा महामारी
राजनीति सपारी मुलुक बिगारी, मान्छे बने कुरैको व्यापारी


प्रकाशित | २७ श्रावण २०७७, मंगलवार ०९:१५