नेपालमा थप २२४ जनामा कोरोना संक्रमण, चार जनाको निधन

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ।

शुक्रबार थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन्।

उपत्यकामा ३८ जना थपिए

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ३२, ललितपुर ५ र भक्तपुर १ जनालाई कोरोना संक्रमण देखिएको हो ।

शुक्रबार थपिएकासहित काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३, ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेकोछ। काठमाडौं उपत्यकामा कहाँ कहाँ संक्रमित फेला परेका हुन् भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन।

थप चार जनाको निधन

नेपालमा थप चार जनाको कोरोनाको कारण निधन भएको । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आज थपिएका सहित मृत्यु हुनेको संख्या ५६ पुगेको छ । मृतक सबै पर्साका हुन् ।

पर्साको वीरगञ्ज महानगरपालिका ११ घर भइ ललितपुरको थसिखेल बस्ने ६५ वर्षीया एक महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै वीरगञ्ज महानगरपालिका ११ का ५६ वर्षीय पुरुषको बिहीबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मुटुको रोगी उहाँको आईसीयू र भेन्टिलेटरमा राखेर गण्डक अस्पतालमा उपचार भइरहेको थियो । उहाँलाई गएको ६ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय अर्का पुरुषको बिहीबार राति ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । गएको ५ गते उहाँ अस्पताल भर्ना हुन भएको थियो । उहाँलाई ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

वीरगञ्ज महानगरपालिका २ को छपकैयाका ६५ वर्षीय अर्का एक पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उहाँको निधनपछि कोरोनाको परीक्षण गरिएको थियो । परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।


प्रकाशित | १६ श्रावण २०७७, शुक्रबार १६:५८