कोरोना समुदायमा फैलिँदै, तर स्वास्थ्यमन्त्री र सचिव नै असंवेदनशील

विज्ञहरु भन्छन्- मन्त्रालयको नेतृत्व कमजोर हुँदा कोरोना नियन्त्रण बाहिर गयो

कमला गुरुङ/काठमाडौं

कोरोना संक्रमितको संख्या घटेको भन्दै सरकारले साउन ७ गतेदेखि लकडाउन अन्त्य ग¥यो। त्यही दिनदेखि हालसम्म नेपालमा १ हजार ५ सय ५३ जनामा कोरोना भेटिएको छ। यही अवधिमा पिसिआर परीक्षणको दायरा बढ्नुको साटो उल्टै घटिरहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गएको ९ दिनमा ४० हजार ८ सय ४ जनाको मात्र पिसिआर परीक्षण भएको छ। पछिल्लो दुई दिनमा करिब ६ हजारको पिसिआर परीक्षण भए पनि बाँकी दिनमा ३ हजार आसपास मात्रै पिसिआर परीक्षण भएका छन्। 

दैनिक १० हजारको पिसिआर परीक्षण गर्ने उद्घोष गरेको मन्त्रालयले नै अहिले परीक्षण संख्या घटाउँदैछ। 

संक्रमितको संख्या बढ्दै गए पनि स्वास्थ्य मन्त्रालयको नेतृत्व भने संवेदनशील दैखिँदैन। मन्त्रालयको मुख्य नेतृत्वमा रहेकाहरु उल्टै हास्यास्पद र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिइरहेका छन्। 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारको काम नदेख्नेलाई मोतिबिन्दु र स्वास्थ्य सचिव लक्ष्मण अर्यालले परीक्षणको दायरा बढाउन हुँदैन भन्ने अभिव्यक्ति दिनुले पनि उनीहरुको गैरजिम्मेवारीपनको झल्को दिन्छ। 

आफ्नै अभिव्यक्तिका कारण मन्त्री ढकाल र सचिव अर्याल अहिले आलोचित समेत भइरहेका छन्। उनीहरुको अभिव्यक्तिमा कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको असंवेदनशीलता प्रष्ट देखिन्छ।  

विपदको यो समयमा सबैभन्दा बढी सक्रिय हुनुपर्ने निकाय नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हो। तर यही मन्त्रालयका प्रमुख नेतृत्वकर्ता स्वास्थ्यमन्त्री ढकाल र सचिव अर्याल नै गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडिरहेका छन्। 

स्वास्थ्यका विज्ञहरुले पनि स्वास्थ्य मन्त्रालयको काम र उनीहरुको अभिव्यक्तिको चर्को आलोचना गरिरहेका छन्। भन्छन्, ‘मन्त्रालयको नेतृत्वको कमजोरीका कारण कोरोना नियन्त्रण बाहिर गएको छ।’

कोरोना नियन्त्रणमा मन्त्रालयको नेतृत्व कमजोर देखिन्छ : डा किरण रेग्मी 
पूर्वस्वास्थ्य सचिव डा किरण रेग्मी कोरोना नियन्त्रणमा मन्त्रालयको नेतृत्व चुकेको बताउँछिन्। मन्त्रालय गम्भीर भएर अघि बढ्नु पर्नेमा धेरै कमी कमजोरी देखिएको उनले बताइन्। 

‘नेपालमा पहिलो संक्रमित देखिने बित्तिकै तयारी प्रभावकारी रुपमा अघि बढाउनुपर्ने थियो। तर त्यसो भएन। यहाँ नेतृत्वको कमजोरी देखिन्छ,’ उनले भनिन्। 

कोरोनाको जोखिम र संख्या बढिरहेका बेला मन्त्रालयले परीक्षणको दायरा घटाएको उनले बताइन्। परीक्षणको दायरा घटेकाले संक्रमितको संख्या पनि कम देखिएको उनको भनाइ छ। जनतालाई स्वास्थ्य मन्त्रालयले झुक्याउने काम गरेको उनले बताइन्। 

उनी भन्छिन्, ‘परीक्षणको दायरा अहिले कम गरेपछि संक्रमितको संख्या पनि कम देखिएको छ। मन्त्रालयले जनतालाई झुक्याएको पो हो की?’

कोरोना समुदायस्तरमा फैलिएको उनको आशंका छ। परीक्षणको दायरा बढाउनुपर्नेमा मन्त्रालयले झन् घटाउँदा भोलिको दिनमा समस्या भयावह हुनसक्ने उनले बताइन्। 

कोरोना समुदायस्तरमा फैलिएको हो की भन्ने ठुलो डर छ। रेग्मीले भनिन्, यस्तो बेलामा परीक्षणको दायरा बढाउनुपर्ने हो, तर उल्टै घरिहेको छ। 

उनका अनुसार मन्त्रालयको नेतृत्वले परीक्षणको दायरा बढाउनुपर्ने, जोखिम क्षेत्रमा बढी पिसिआर गर्नुपर्ने, क्वारेन्टाइनलाई व्यवस्थित गर्नुपर्ने, कन्ट्याक ट्रेसिङको काम प्रभावकारी रुपमा गर्नुपर्ने, प्रत्येक प्रदेशमा विज्ञ सहितको टोली गठन गर्नुपर्ने थियो। उल्टै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिँदै हिडेको उनको भनाइ छ। 

विज्ञहरु कराउँछन् तर मन्त्रालयको कानमा पुगेकै छैन : डा यशोवर्धन प्रधान
स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा यशोवर्धन प्रधानले स्वास्थ्य मन्त्रालय कानमा तेह हालेर बसेको बताउँछन्। स्वास्थ्य मन्त्रालय तथा यसका नेतृत्व जति संवेदनशील हुनुपर्ने हो, त्यसो नभएको उनले बताए। 

उनी भन्छन्, ‘कोरोनाको जोखिम बढ्दो छ। मन्त्रालयको नेतृत्व कानमा तेल हालेर बसेको छ। विज्ञहरुले सबैले परीक्षणको दायरा बढाउनुपर्ने बताउँदै आएका छन्। तर उनीहरुको कानसम्म यो कुरा पुगेकै छैन।’

पहिले भारतबाट आउने व्यक्तिबाट कोरोना सरे पनि अहिले समुदाय भित्रैबाट कोरोना सरेको उनले बताए। संक्रमितमा लक्षण देखिनु, मृत्युदर बढ्नु, समुदाय भित्रैबाट कोरोना सर्नुले अवस्था भयावह हुनेमा उनको चिन्ता छ। यस्तो बेला परीक्षणको दायरा बढाउनुपर्नेमा मन्त्रालयले झन् घटाउँदै लगेकोमा उनले आक्रोश अनि चिन्ता छ। 

डा प्रधानले भने, ‘पहिले भारतबाट आएको व्यक्तिमा कोरोना थियो। अहिले समुदाय भित्रैबाट कोरोना सरेको छ। पहिले संक्रमितमा लक्षण देखिएको थिएन। अहिले लक्षण देखिन थालेको छ। पहिले मृत्युदर कम थियो तर अहिले बढ्दै गएको छ। यस्तो बेला झन् परीक्षण घटाउनु जोखिमपूर्ण हुन्छ।’

स्वास्थ्य मन्त्रालय र यसको नेतृत्व गम्भीर हुनुको साटो हास्यास्पद अभिव्यक्ति दिँदै हिँडेको उनले बताए। उनी भन्छन्, ‘यदि यो साँचो हो भने मन्त्री र सचिवले दिएको अभिव्यक्ति निकै हास्यास्पद, केटाकेटीपन र दुर्भाग्यपूर्ण छ।’

प्लेन उडाउने क्याप्टेन नै भएन : डा बाबुराम मरासिनी
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनी स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रणमा धेरै कमजोरी गरेको बताउँछन्। 

सरकारले परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टाइनलाई व्यवस्थित गर्नुपर्नेमा त्यसो गर्न नसकेको उनले बताए। मन्त्रालयको यो सबैभन्दा ठूलो कमजोरी भएको उनको भनाइ छ। 

सरकारले यी सब कुरालाई व्यवस्थित गर्न नसक्दा नै संक्रमितको संख्या बढ्दै गएको उनी बताउँछन्। मन्त्रालयले गर्नुपर्ने सबै काम प्रदेश र स्थानीय सरकारले गरेको उनको भनाइ छ।  

डा मरासिनीले भने, ‘कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग हुन सकेन। क्वारेन्टाइन व्यवस्थित भएन। कोही त्यत्तिकै भागे। सबैको परीक्षण नगरी घर पठाइयो। यस्तो गर्न हुन्नथ्यो। यो मन्त्रालयको कमजोरी हो।’

मन्त्रालयले आरडिटीमा ठूलो रकम खर्च गरे पनि त्यसबाट कुनै उपलब्धि नभएको उनले बताए। उनका अनुसार मन्त्रालयका नेतृत्वले कोरोना रोकथाम तथा नियन्त्रण अधिकारी नियुक्त गर्नुपर्ने थियो र सबै जिम्मा उनीहरुलाई दिनुपथ्र्यो।

उनी भन्छन्, ‘प्लेन छ तर प्लेनलाई उडाउने क्याप्टेन चाहिँदैन र? यहाँ पनि भएको त्यही हो। सही क्याप्टेन नभएपछि जसलाई जे लाग्छ, त्यही निर्णय भएको छ।’  कसैलाई पूर्ण जिम्मेवारी नदिएसम्म कोरोना नियन्त्रण गर्न समस्या हुने उनको भनाइ छ। स्रोत -स्वास्थ्य खवर


प्रकाशित | १६ श्रावण २०७७, शुक्रबार १५:५४