हवाई यातायात सुचारु नहुञ्जेल चार्टड उडानहरु नरोक्न पासाङ शेर्पाको माग

यूएई : गैर आवासीय नेपाली संघ (एनआरएनए ) युएईका उपाध्यक्ष पासाङ शेर्पाले यथासम्भव छिटो हवाई यातायात सुचारु गर्न र त्यतिन्जेलसम्म चार्टड उडानहरु नरोक्न नेपाल सरकारसँग माग गर्नुभएको छ । यूएईमा नेपाल सरकारले पठाएको ५० हजार दिरहमको १ भाग जति पनि सहयोग पीडितहरुले अहिलेसम्म प्राप्त गर्न नसकेको भन्दै उपाध्यक्ष शेर्पाले यो अवस्थामा चार्डट उडानहरुलाई समेत अनुमती नदिने जस्तो बखेडाबाजी गरेर जनआक्रोश नबढाउन अपिल गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘गोजीमा दाम हुने र जान चहानेहरुलाई आफ्नै खर्चमा फर्किने सहज वातावरण अविलम्ब बनाइनु पर्दछ । सरकारको सोधभर्नाको नीति कार्यनयन हुने बेलासम्म त्यसै तेब्बर महंगो टिकटसगै तिर्नै नस्किने जरिवानामा पिडितहरु नपार्न नेपाल सरकारसँग अपिल छ ।’ उपाध्यक्ष शेर्पाको विचार जस्ताको तस्तै :-

एनआरएनए एनसीसी युएईले विगत ३ महिना भन्दा बढी समय देखि कोरोना महामारीले प्रभावित भएका नेपालीहरुलाई युएईको सातै वटा इमिरेट्समा मानविय भावनाको आधारमा आवश्यक राहत सहयोग उपलब्ध गराउदै आएको सर्वविदितै छ । समुदाय प्रतिको उत्तरदायित्व वोध गर्दै एनआरएनए एनसीसी युएई लगायत अन्य संघ-संस्थाहरु र व्यक्तिगत रुपमा साथीहरु अनवरत रुपमा यस्तो महामारीको समयमा आफ्नो र परिवारको स्वास्थलाई जोखिममा राखेर खटनु भएकोमा सबैलाई हृदय देखि नै नमन गर्न चहान्छु ।

भौगोलिक दुरी र कठिनाईका कारण सबै ठाँउमा सबैलाई भनेको बेला सहयोग गर्न नसकिए पनि सबैले आफ्नो सिमित श्रोत, साधन र समय खर्चेर सकेको सहयोग गरेकै हो, भ्याएसम्म गर्‍यौ र अझै पनि गर्छौ त्यही पनि कहिँ कतै सहयोग नपुगेको भए क्षमा प्रार्थी पनि छौ । तर सहयोग भनेको आफुले आफुलाई सपोर्ट गर्ने कुनै माध्यम बाँकी नरहेको, साथी भाइ, नातागोता, सरसापट समेत चल्न छोडेर अब संघ-संस्थाको सहयोग पाइएन भने भोकै रहनु पर्ने अवस्थामा रहेकाहरुले मात्र खोज्ने हो भन्ने पनि हेक्का राखिनु आवश्यक छ ।

संघ-संस्थाहरुले पनि बाह्रै महिना बाह्रै काल सहयोग गरिरहन सक्दैन, त्यसैले नेपाल सरकारसंग यथासम्भव छिटो हवाइ यातायात सुचारु गर्न र त्यतिन्जेलसम्म चार्टड उडानहरु नरोक्न हार्दिक अपिल छ । नेपाल सरकारले पठाएको ५० हजार दिरहम जसको ३ भागको १ भाग जति पनि सहयोग पिडितहरुले अहिलेसम्म प्राप्त गर्न नसकेको अवश्थामा चार्डट उडानहरुलाई समेत अनुमती नदिने जस्तो बखेडा बाजि गरेर जनआक्रोश नबढाउन समेत अपिल गर्दछु । गोजीमा दाम हुने र जान चहानेहरुलाई आफ्नै खर्चमा फर्किने सहज वातावरण अविलम्ब बनाइनु पर्दछ । सरकारको सोधभर्नाको नीति कार्यनयन हुने बेलासम्म त्यसै तेब्बर महंगो टिकटसगै तिर्नै नस्किने जरिवानामा पिडितहरु नपार्न नेपाल सरकारसंग अपिल छ ।


प्रकाशित | ११ श्रावण २०७७, आईतवार १८:१३