चौथो पटक महावाणिज्य दूत नियुक्त हुँदा गौरवान्भित महसुस भइरहेको छ: दिपक खडका [अन्तर्वार्ता]

अस्ट्रेलियाको व्यापारिक राजधानी सिड्नीमा अवस्थित न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा चौथो पटक दीपक खड्का नियुक्त हुनुभएको छ । नेपाल सरकारको गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई पुन चार वर्षका लागि महावाणिज्य दूत नियुक्त गर्ने निर्णय गरेको हो । नेपालको दोलखा जिल्लामा जन्मनु भएको महावाणिज्य दूत खड्काले यसअघि पनि तीन कार्यकाल अर्थात् एघार वर्ष महावाणिज्य दूतको जिम्मेवारी निकै कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ । महावाणिज्य दूतको कार्यालयले दुई देश बीचको वाणिज्य सम्बन्ध विस्तार लगायत भिसा र अन्य सिफारिस प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा विश्व सन्देशका प्रधान सम्पादक किरण बुढाथोकीले महावाणिज्य दूत दीपक खडकासँग छोटो कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश :-

नेपाल सरकारको मन्त्रीपरिषद्बाट चौथो पटक महावाणिज्य दूत नियुक्त हुनुभयो, चौथो पटक महावाणिज्य दूतमा नियुक्त हुँदा कस्तो महसुस गरिरहनु भएको छ ?

सर्वप्रथम मलाई चौथो पटक महावाणिज्य दूत नियुक्त गर्नुहुने नेपाल सरकार, मलाई साथ र सहयोग दिनुहुने नेपाली समुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु । नेपाल सरकारले पछिल्लो समय हरेक क्षेत्रमा कानूनी शासन स्थापीत गर्दै राम्रा, सक्षम, योग्य र समाजमा योगदान गर्नुभएका ब्यक्तीत्वहरुलाई अगाडि बढाइरहेकोमा खुसी लागेको छ । हुनत मेरो पद सानै हो । यद्यपी हरेक काम सानैबाट शूरु हुने भएकाले सरकारको पछिल्लो कदमले थप ऊर्जा मिलेको छ । मलाई गर्व लागेको छ । साथै राजनीतिक स्वार्थबाट बाहिर निस्केर नेपाली समुदायको भावनाअनुसार मलाई महावाणिज्य दूत नियुक्त गरेकोमा अत्यन्तै खुसी र आफैलाई गौरवान्भित महसुस गरिरहेको छु । किनकी आफू बसेको क्षेत्रमा निरन्तर रुपमा नेपाली समुदायको विश्वास जित्न सफल हुँदै आएको रहेछु भन्ने आभास मिलेको छ । विशेष गरि समुदायको भावना र माग तथा काम गर्ने तीब्र इच्छा शक्तीलाई यता उता नगरि सरकारले ब्यक्तीगत हिसावले मलाई भन्दा पनि नेपाली समुदायको भावनालाई कदर गरेकोमा काम गर्न थप उत्साहीत छु ।

एघार वर्षसम्म महावाणिज्य दूतको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ, अबका दिनमा कसरी अगाडि बढ्नुहुन्छ ?

मुख्यत: नेपाल सरकार र यहाँको नेपाली समुदायको विश्वास र भावनालाई कदर गर्नु मेरो मुख्य ध्येय हुनेछ । आगामी दिनमा विशेष गरि अझ राम्रा काम गर्न प्रयासरत रहनेछु । विगतका कार्यहरुलाई नै निरन्तरता दिदैं बढ्दो नेपाली समुदायको आवश्यकतालाई ध्यानमा राखेर सेवा प्रवाहमा लागिपर्नेछु । साथै महावाणिज्य दूतको सिमित अधिकारक्षेत्रभित्र रही के कसरी धेरै भन्दा धेरै सेवा प्रवाह गर्न सकिन्छ भनेर आफनो सम्पूर्ण ध्यान केन्द्रित गर्नेछु ।

त्यस्तैगरि, दुई देशबीचको मैत्री सम्बन्ध प्रगाढ बनाउन पनि लागिपर्नेछु । साथै प्रदेश सरकारबीच अझ राम्रो दौत्य सम्बन्ध स्थापीत गराउँदै दुई देशका जनताबीचको सम्बन्ध सुमधुर बनाउन लागिपर्नेछु । साथै देशमा लगानी भित्र्याउने कार्यमा प्रयास गर्नेछु । विशेष त लामो समयदेखि एउटै जिम्मेवारी वहन गरिरहेकाले विगतका अनुभवलाई सगाल्दै अझै प्रभावकारी कार्य र सेवा प्रवाहमा लाग्नेछु ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड -१९ अर्थात कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको एक सय २० दिनको लकडाउन अन्त्य भएको छ, अहिले नेपालमा जनजीवन सामान्य बनेको देखिन्छ । तपाई अस्ट्रेलियामा रहँदै गर्दा आम नेपाली समुदायमा के अपिल गर्न चाहानुहुन्छ ?

विश्वब्यापी महामारीको रुपमा रहेको कोभिड-१९ अर्थात कोरोना भाईरसको कारणले संसार नै आक्रान्त छ । लामो समयदेखि लकडाउन हुँदा जनजीवन नराम्ररी प्रभावीत भइरहेको छ । यसै सन्दर्भमा नेपालमा पनि करिव एक सय २० दिनपछि लकडाउन खुकुलो बनाइएकोमा खुसी लागेको छ । लकडाउन लामो समय हुँदा ब्यापार ब्यवसाय सबै बन्द छ । मानीसहरुलाई जीवीर्कोपार्जन गर्न समस्या हुने स्थिति आइरहेको छ । यो अवस्थामा लकडाउन खुुकुलो बनाउनु स्वागतयोग्य भए पनि नागरिकस्तरबाट सबैले जिम्मेवार र सजग हुनुपर्ने देखिन्छ । सरकारले गर्ने काम एक ठाउँमा छ समुदायले पनि आफनो दायित्व र जिम्मेवारी भुल्नु भएन । अहिले लकडाउन खुकुलो भए पनि कोभिड अन्त्य भइसकेको छैन भन्ने कुरा बिर्सन हुँदैन । सरकारले बनाएको नियम पालना गर्दै आवश्यक सम्पूर्ण सुरक्षा सावधानी अपनाउनुहुन सबैमा हार्दिक अनुरोध गर्न चाहान्छु ।अब यो जिम्मेवारी सरकारको मात्र नभएर नागरिकहरुको पनि भएकाले नागरिक समुदायले पनि दायित्व निर्वाह गर्ने कुरालाई नबिर्सनु हुन हार्दिक अपिल गर्न चाहान्छु ।

अन्तमा के भन्न चाहानुुहुन्छ ?

मलाई कुरा राख्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु । साथै मलाई नेपाली समुदायले गर्नुभएको विश्वासलाई कहिल्यै कमी आउँन दिनेछैन । सबैको विश्वासले पुन: एक पटक थप ऊर्जा मिलेकाले पनि आगामी दिनमा अझ राम्रो काम गर्न प्रयासरत रहनेछु । अन्तमा मलाई माया गर्नुहुने, विश्वास गर्नुहुने र मेरो कामको मूल्यांकन गनुृहुने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।


प्रकाशित | ८ श्रावण २०७७, बिहीबार १०:१४