युनाइटेडलाई हराउँदै चेल्सी फाइनलमा

एजेन्सी : चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली स्टेडियममा आइतबार राति भएको दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो ।

चेल्सीलाई जित दिलाउन ओलिभर जिरुड र मासन माउन्टले एक एक गोल गरे । युनाइटेडका कप्तान ह्यारी मग्वाएरले एक आत्मघाती गोल गर्दा ब्रुनो फर्नान्डेसले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा माउन्टले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो ।

खेलको ७४ औं मिनेटमा युनाइटेडका मग्वाएरले आत्मघाती गोल गर्दा चेल्सीले ३-० को अग्रता बनायो । त्यसपछि खेलको ८६ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा एक गोल फर्काएपनि चेल्सी ३-१ ले विजयी भयो ।

अब चेल्सीले उपाधिका लागि कीर्तिमानी १३ पटकको च्याम्पियन आर्सनलसँग खेल्नेछ । आर्सनल म्यानचेस्टर सिटीलाई २-० ले हराएर फाइनल पुगिसकेको छ । चेल्सी र आर्सनलबीचको फाइनल अगष्ट १ मा वेम्बलीमा हुनेछ ।


प्रकाशित | ५ श्रावण २०७७, सोमबार ०८:३४