मध्यपूर्व बाहेकका २० देशका नेपाली कोरोना संक्रमण मुक्त

काठमाडौं : विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको निधन भएको हो ।

कतारमा निधन भएका ८ जना मध्य २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ ।

गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार जम्मा कोराना संक्रमित मध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपाली मध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन् । विदेशमा ३० हजार ५ सय ७१ जना मध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा.सापकोटाका अनुसार भारत, साउदी, युएई र कुवेतमा मात्र ९ सय ५० जनामा नेपालीहरुमा यो साता कोरोना संक्रमणमा बृद्धि भएको हो ।

संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले ४० जना नेपालको सहित विश्वभर ज्यान गुमाउनेको संख्या २ सय जना पुगेको छ ।

यस्तै नेपालमा मात्र १७ हजार ५ सय २ जनामा संक्रमण फैलिएको छ । ती मध्ये करिब ६५ प्रतिशत अर्थात ११ हजार ६ सय ३७ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।


प्रकाशित | ४ श्रावण २०७७, आईतवार ०९:३८