कोरोनाको ‘हट स्पट’ दैलेखमा कसरी भयो संक्रमितको उपचार ?

काठमाडौं– छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै त्यहाँ रहेका नेपालीको घर फर्किने क्रम सुरु भयो। एकै पटक हजारौंको संख्यामा नेपाली फर्किएपछि तिनीहरुको व्यवस्थापन गर्न सरकारलाई निकै गाह्रो परेको थियो। क्वारेन्टाइन व्यवस्थित गर्न नसक्दा कतिपयको क्वारेन्टाइनमै ज्यान गयो।

यस्तै समस्या भोगिरहेका थियो, दैलेखको दुल्लु नगरपालिकाले पनि। भारतबाट आउनेको भीड बढ्न थालेपछि नगरपालिकाले १३ वटै वडामा क्वारेन्टाइन निर्माण सुरु गर्‍यो। नगरपालिकाभित्र ४० वटा क्वारेन्टाइन निर्माण गरिए। 

दुल्लु नगरपालिकामा रहेका क्वारेन्टाइन मानिसको चाप अनुसार अपुग अपुग थिए। ४ हजारभन्दा बढी व्यक्तिलाई राखिएको थियो ती क्वारेन्टाइनमा। त्यहाँ क्वारेन्टाइनभित्रै दुई जनाको मृत्यु भएको थियो।

क्वारेन्टाइनमा बस्नेको संख्या अत्यधिक भएकाले सुरुसुरुमा त कोरोना परीक्षण गर्न निकै कठिन भएको अनुभव सुनाउँछिन्, दुल्लु अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पूजा बिसी।

कोरोना परीक्षणपछि मात्र घर पठाउने भनिएकाले सबैको परीक्षण गर्न नै लामो समय लाग्ने उनी बताउँछिन्। ‘अस्पतालमा पिसिआर ल्याब छैन। अन्य ल्याबमा पिसिआर परीक्षण गर्न पठाएको रिपोर्ट आउनै २०÷२१ दिन लाग्ने। रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेकाहरुलाई सम्हाल्नै गाह्रो, नाराबाजी नै भयो,’ उनी भन्छिन्,। 

उनी थप्छिन्, ‘एक पटकमा ३ सयका दरले पिसिआर परीक्षण गर्न नमुना पठाउथ्यौँ, रिपोर्ट नआएसम्म सबैमा के हुने हो भन्ने डर देखिन्थ्यो। कोरोना नभएकाहरुलाई पनि संक्रमण हुने चिन्ता उत्तिकै।’  पिसिआर रिपोर्ट आउन ढिला भएपछि आरडिटी परीक्षण सुरु गरियो। त्यसपछि भने केही सहज भएको उनको अनुभव छ।  

‘आरडिटी रिपोर्ट अनुसार पोजेटिभ देखिएमा उपचार गर्ने नत्र घर पठाउन थालिएपछि केही सहज भयो,’ मेसु पूजा भन्छिन्। उनका अनुसार अहिले विभिन्न क्वारेन्टाइनमा गरेर ५०÷६० जना मात्रै रहेका छन्। 
 
क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना परीक्षण पोजेटिभ देखिएपछि दुल्लु नगरपालिका मातहातमा रहेको दुल्लु अस्पतालमा उपचार गर्ने व्यवस्था गरिएको थियो। दुल्लु १५ शय्याको अस्पताल हो। अस्पतालले कोरोना संक्रमितको उपचारको लागि छुट्टै १५ शय्याको अक्सिजन जडित अस्थायी कोरोना अस्पताल र सामान्य संक्रमितको उपचारको निमित्त ५० शय्याको आइसोलेसन  सेन्टर तयार पारेको छ। 

अहिलेसम्म अस्पतालमा ९७ जना कोरोना संक्रमितको उपचार भएको डा पूजाले जानकारी गराइन्।उनका अनुसार क्वारेन्टाइनमा बसेका दुई जनाको मृत्यु भयो भने ८५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। अहिले १० जना अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। 

अस्पतालमा पहिलो कोरोना संक्रमित व्यक्ति जेठ १७  गते भर्ना भएका थिए। त्यसपछि एकै पटक ४ जना संक्रमित व्यक्ति अस्पतालमा भर्ना भएको डा पूजालाई सम्झना छ।  ‘भारतबाट आउनेको संख्या बढ्न थालेसँगै संक्रमितको संख्या पनि बढ्यो,’ उनले भनिन्, ‘क्वारेन्टाइनहरु पनि भरिए।’

सबैको सहयोगले न्यूनतम साधन–स्रोतका बीच पनि क्वारेन्टाइन व्यवस्थापनदेखि उपचारसम्म सम्भव भएको पूजा सुनाउँछिन्।  सरकारले कोरोना संक्रमण नियन्त्रण र फैलिन नदिन लकडाउन सुरु गरेलगत्तै दुल्लु अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि आवश्यक तयारी सुरु गरिसकेको थियो। 

‘चैतबाट नै कोरोना संक्रमितको उपचारको लागि अस्पतालले तयारी सुरु गरेको थियो, त्यसको साढे दुई महिनापछि मात्रै पहिलो संक्रमित अस्पताल भर्ना हुनुभयो। हामी पहिलादेखि नै तयारी अवस्थामा रहेकाले उपचारमा खासै कठिनाइ भोग्नु परेन’, मेसु पूजा भन्छिन्। 

सुरुवाती चरणमा कोरोनाको संक्रमणले नेपाल बाहिर विभिन्न मुलुकको धेरैको ज्यान गइसकेको र स्वास्थ्यकर्मीको पनि निधनको खबरले उनलाई कोरोना उपचारमा स्वास्थ्यकर्मी परिचालन कसरी गर्ने र उनीहरुको मनोबल कसरी उच्च राख्ने भन्ने चिन्ता डा पूजामा थियो।  त्यति मात्र नभएर चिकित्सक र स्वास्थ्यकर्मीलाई नै संक्रमण भयो भने जनशक्ति कसरी व्यवस्थापन गर्ने भन्ने अर्काे चिन्ता पनि उनको मनमा थियो।

‘अस्पतालमा कर्मचारी नै थोरै छन्। यस्तो अवस्थामा सुरुवाती चरणमा कसलाई कहाँ खटाउने भन्ने नै समस्या थियो,’ उनले सुरुवाती दिन सम्झिँदै भनिन्, ‘लगत्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुई जना मेडिकल अफिसर आएपछि भने हामीलाई केही सहज भयो।’

डा पूजाले मेडिकल अफिसर, नर्स, स्वास्थ्यकर्मी लगायत ७÷७ जनाको टिम बनाएर ए, बी, सी, डी गरी ४ वटा टिममा विभाजित गरिन्। उनी दुल्लु अस्पतालले थोरै जनशक्तिमा पनि ठूलो संख्यामा कोरोना संक्रमितको उपचार गर्न सक्नुमा कर्मचारीको सहयोग महत्वपूर्ण भएको बताउँछिन्। 

‘यो उहाँहरुको सहयोगले गर्दा मात्र सम्भव भएको थियो। सबै जना आफ्नो जिम्मेवारी पूरा गर्न तयार हुनुभयो, कसैले पनि कोरोना संक्रमितको उपचारमा खटिन्न भन्नुभएन,’ कर्मचारीको प्रशंसा गर्दै उनले भनिन्, ‘कर्मचारी साथीहरुकै सक्रियतामा अस्पतालले काम गर्न सकेको हो।’

कोरोना संक्रमितको उपचारमा अस्पताल लागिरहेका बेला अन्य सामान्य समस्या लिएर आउने बिरामीको संख्या पनि यही बीचमा बढ्यो। अस्पतालमा बढेको भीड र बिरामीहरुले हेलचेक्र्यार्इंले कोरोना समुदायस्तरमा फैलिने हो कि भन्ने चिन्ता डा पूजामा देखिन्थ्यो। 

अस्पतालमा भीड नबढोस् भनेर उनले आफ्नो मोबाइल नम्बार दिएर फोनमार्फत नै परामर्श दिन सुरु गरिन्। तर पनि बिरामीको संख्या नघटेपछि नेपाली सेना नै परिचालन गर्नुपर्ने अवस्था सिर्जना भयो र जटिल खालका बिरामीलाई मात्र अस्पतालमा आउन दिने नियम लागू गरिएको पूजा बताउँछिन्। 

लकडाउनकै बीचमा डा पूजाले भोगेको अर्काे समस्या भनेको एम्बुलेन्सको हो। दुल्लु अस्पतालसँग जम्मा एउटा मात्रै एम्बुलेन्स छ। जुन कोरोना संक्रमितलाई ओसारपसारमै बढी प्रयोग भएको थियो। अस्पतालमा उपचार गर्ने आउने गम्भीर बिरामीलाई जिल्ला बाहिर रिफर गर्नपरे एम्बुलेन्सको अभाव थियो। लकडाउनका कारण अरु गाडीहरु पनि सहज नपाइने भएकाले बाहिर जिल्लाबाट निकै एम्बुलेन्स झिकाउनुपर्ने बाध्यता थियो। 

एकातिर थोरै कर्मचारी अनि अर्काेतर्फ कोरोना संक्रमितको उपचारसँगै अन्य बिरामीको उपचार सेवा पनि निरन्तर थियो। 

त्यही बीचमा अस्पतालका ल्याब एसिस्टेन्स, नर्स स्वास्थ्यकर्मी सहित तीन जना र १ जना नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भयो। त्यसपछि भने अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न डा पूजालाई निकै गाह्रो परेको थियो। 

तर अन्य स्वास्थ्यकर्मी र कर्मचारीको सहयोगले कोरोना संक्रमित र अन्य बिरामीको उपचारमा समस्या हुन पाएन। अहिले भने ३ जना निको भएर काममा फर्किसकेका छन् भने १ जनाको आइसोलेसनमा उपचाररत छन्। 

सुरुवाती दिनमा पिपिई लगाएर फिवर क्लिनिक सञ्चालन गर्दा कर्मचारीलाई निकै गाह्रो भएको पूजाको अनुभव छ। बानी नपरेकाले खसखस हुने र शौचालय जाँदा खोल्नुपर्ने झन्झटले ६÷७ घन्टासम्म पानी नखाई ड्युटीमा खटिनुपरेको तितो अनुभव उनले सुनाइन्। 

क्वारेन्टाइनमा बसेका व्यक्तिहरुसँग सम्पर्कमा रहेका आफन्तको कन्ट्याक्ट टे«सिङको लागि स्वास्थ्य सेवा विभागबाट प्रतिनिधि परिचालन गरिएको थियो। जसले गर्दा कन्ट्याक्ट टे«सिङ गर्न सहज भएको पूजा बताउँछिन्। 

कोरोना सुरु भएदेखि नै दुल्लु नगरपालिकाले आवश्यक पिपिई, मास्क, सेनिटाइजर लगायतका सामग्रीको जोहो गरेको थियो। यसले गर्दा उपचारमा कुनै कठिनाइ भोग्नु परेन। अस्पताललाई आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्ने जिम्मा नगरपालिकाले लिएको थियो। 

साथै आइसोलेसनमा भर्ना भएका संक्रमितको खानाको व्यवस्था पनि नगरपालिकाले नै लिएको छ। कोरोना संक्रमितको उपचारमा खटिएका कर्मचारीलाई बस्ने व्यवस्था आइसोलेसन अस्पतालको माथिल्लो तलामा गरिएको छ।  नगरपालिका र स्टाफहरुको सहयोगले गर्दा कोरोना संक्रमितको उपचार गर्न सहज भएको पूजा बताउँछिन्।  स्रोत -स्वास्थ्य खवर


प्रकाशित | ३ श्रावण २०७७, शनिबार १०:१८