परराष्ट्र मन्त्रालयले भन्यो – अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिन्न

काठमाडौं : परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिने बताएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन ।’

प्रधानमन्त्री ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गर्नुभएको थियो । तर परराष्ट्रले भने प्रधानमन्त्रीले श्रीराम र उहाँसँग सम्वद्ध स्थानबारे धेरै किंवदन्ती रहेको र नयाँ तथ्यहरु प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन, अनुसन्धानको महत्वमाथि जोड मात्र दिएको बताएको छ । ‘प्रधानमन्त्रीको टिप्पणीले अयोध्याको महत्व र साँस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य राखेको छैन’ विज्ञप्तिमा भनिएको छ ।

साथै विवाह पञ्चमीमा प्रत्येक वर्ष भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने तथा २०१८ मा दुई देशका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको स्मरण गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ, ‘यी तथ्यहरुले दुई देश र जनताबीचको सांस्कृतिक समानतालाई संकेत गर्छन् ।’


प्रकाशित | ३० असार २०७७, मंगलवार २०:१०