पार्टीभित्र गम्भीर समस्या छ, तर पार्टी फुट्दैन : प्रचण्ड

चितवन : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र गम्भिर समस्या भए पनि कुनै पनि हालतमा नफुट्ने बताउनुभएको छ । ‘तपाइहरु सबैलाई थाहै छ, पार्टीभित्र गम्भीर समस्या सिर्जना भएको छ । तर, यो होइन कि पार्टी फुटिहाल्छ’, उहाँले भन्नुभयो ।

उहाँले हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताकासाथ लागिपरेको भन्दै ठूलो पार्टीमा विवाद आउनु नौलो नभएको बताउनुभयो ।

प्रचण्डले पार्टी स्थायी कमिटी बैठकमा नक्सा सार्वजनिक हुँदा प्रधानमन्त्रीको हैसियतले केपी ओलीले वैधानिकता दिएको भन्दै धन्यवाद दिएको सम्झनासमेत गर्नुभयो । पार्टी भित्रको विवादलाई लिएर राष्ट्रवादको विषय उठेको भन्दै राष्ट्रवाद जिन्दावाद र मुर्दावादको कुरा नभएको उहाँले प्रष्ट पार्नुभयो ।

‘स्थायी कमिटी बैठकमा मैले बोल्दा वा सबैले सरकार, कमरेड केपी ओलीलाई धन्यवाद दिएका छौँ’, प्रचण्डले भन्नुभयो, ‘नक्सालाई तपाईं प्रधानमन्त्रीको हैसियतले वैधानिकता र औपचारिकता दिनुभयो। के राष्ट्रवाद जिन्दावाद र मुर्दावादको कुरा हो ?’ ।

आफू र अर्का अध्यक्ष ओलीलाई उक्साउने प्रवृत्ति पार्टीमा रहेको भन्दै प्रचण्डले त्यसलाई खबरदारी गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । तर पार्टीभित्रको विवादमा आफूहरुलाई भारत परस्त भनेर प्रचार गर्दै प्रदर्शन गरिएकोमा प्रचण्डले चर्को असन्तुष्टि व्यक्त गर्नुभयो ।

पार्टीमा सबै राष्ट्रवादी रहेको र नयाँ नक्सा मिलेरै बनाएको उहाँले बताउनुभयो । प्रचण्डले आफु र ओलीलाई उक्साइएको भने पनि त्यो को हो भन्ने खुलाउनु भएन ।


प्रकाशित | २८ असार २०७७, आईतवार १९:३९