इटलीले १३ देशबाट आउने नागरिकमाथि प्रतिबन्ध लगायो

काठमाण्डौ : विश्वव्यापी रुपमा कोरोना भाइरस सङ्क्रमणको दर बढ्न थालेपछि इटलीले विभिन्न १३ देशबाट आउने नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । ती १३ वटा देशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या धेरै भएकोले यस्तो निर्णय गरेको इटलीले जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इटलीको स्वास्थ्य मन्त्रालयले तयार गरेको १३ देशको सूचीमा अर्मेनिया, बहराइन, बङ्गलादेश, ब्राजिल, बोस्निया एण्ड हर्जगोबिना, चिली, कुवेत, उत्तरी म्यासाडोनिया, मोल्डोभिया, ओमान, पनामा, पेरु र डोमेनिक गणराज्य रहेका छन् ।

इटलीका स्वास्थ्य मन्त्री रोबर्टो स्पेर्नजाले पछिल्लो १४ दिनमा ती देशमा रहेर फर्किएका र ती देश भएर आएका नागरिकमा यो प्रतिबन्ध लागू हुने बताएका छन् ।

साथै स्वास्थ्य मन्त्री स्पेर्नजाले युरोपेली सङ्घका अरु देश शेन्जेन फ्री मुभमेन्ट क्षेत्रबाट इटली आउनेलाई कम्तीमा १४ दिन क्वरेण्टीनमा राखिने बताएका छन् ।

अहिले इटली कोरोना भाइरसको सङ्क्रमणबाट प्रभावित सूचीको १२ औँ नम्बरमा छ । इटलीमा अहिलेसम्म दुई लाख ४२ हजार तीन सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ३४ हजार नौ सय २६ जनाको ज्यान गएको छ । एजेन्सी


प्रकाशित | २६ असार २०७७, शुक्रबार १५:२९