अबिरल बर्षाका कारण ठाउँ ठाउँमा पहिरो : लमजुङ र पोखरामा सात जनाको मृत्यु

पोखरा : अबिरल वर्षाको कारण पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ । पहिरोका कारण सात जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।

दश जना मध्ये तीन जनाको मृत्यु भएको र सात जना घाइते छन् । उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो । अन्य हराइ रहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको छ । त्यसैगरी, पोखरा २५ हेम्जामा घर पछाडिबाट पहिरो आउँदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, लमजुङमा पहिरो गएर घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । लमजुङमा बिहीबार राति परेको अबिरल बर्षाका कारण पहिरोले घर पुरिँदा बेंसीशहर नगरपालिका १० खाँचे घर भई बेंसीशहर नगरपालिका ७, सातबिसेमा बस्दै आएका अन्दाजी ३०÷३२ बर्षीय दीपक तामाङ, उनको श्रीमति अन्दाजी २५÷२६ बर्षीय बिमाया तामाङ र छोरा अन्दाजी ८÷९ बर्षको छेवाङ तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार बर्षाका कारण बिहीबार राति साँढे १० बजेतिर उक्त घरलाई पहिरोले पुरेको थियो ।

पहिरो खस्दै गर्दा भागेका बेंसीशहर नगरपालिका ७ का २६ बर्षीय सन्तबहादुर गुरुङ, बेंसीशहर १० पांगे्रक्युका २३ बर्षीय अनिल गुरुङ, ३३ बर्षीय सुमन गुरुङ घाइते भएका छन् । उनीहरुको बेंसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

म्याग्दीमा पहिरोले घर बगाउँदा ७ जना बेपत्ता

त्यस्तै, म्याग्दीको धौलागिरी गाउँपालिका ६ मराङको रिखामा पहिरो जाँदा शुक्रबार बिहान ७ जना बेपत्ता भएका छन् । मराङका वडाध्यक्ष राजाराम सुवेदीका अनुसार घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले २ परिवारका ७ जना बेपत्ता भएका हुन् ।

पहिरोले भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर बगाएको वडाध्यक्ष सुवेदीले जानकारी दिनुभयो । भीमप्रसादको घरमा ४ र धनबहादुरको घरमा ३ जना थिए ।

भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताउनुभयो । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका बताउनुभयो । घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । ४ घर विस्थापित भएका छन् ।

त्यस्तै, मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिनुभयो । घरका मानिसले भागेर ज्यान बचाएका छन् ।

भाग्ने क्रममा १ जना घाइते भएका छन् । यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।


प्रकाशित | २६ असार २०७७, शुक्रबार ०७:५१