राष्ट्रपतिसँग भेटेसँगै प्रचण्ड बालुवाटारमा, अन्य चार नेता पनि सहभागी

काठमाडौँ : राष्ट्रपति विद्या देवी भण्डारीसँगको भेटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुग्नुभएको छ । अहिले दुई अध्यक्ष बीच बालुवाटारमा वार्ता शुरु भएको छ । भोलि बिहान सोमबार ११ बजेका लागि स्थायी कमिटी बैठक डाकिएपछि आज दुई अध्यक्षबीच वार्ताको माध्यमबाट सहमती हुन नसकेको खण्डमा पार्टी विघटनमा पुग्ने निश्चित देखिएको छ । त्यसैले आजको वार्तालाई महत्त्वकासाथ हेरिएको छ ।

मध्यान्ह १२ः३० मा शुरु भएको वार्तामा थप दुई दुईजना नेताहरू पनि सहभागी हुनुहुन्छ । प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंका अनुसार अध्यक्ष ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शङ्कर पोखरेल वार्तामा हुनुहुन्छ । त्यस्तै, अर्का अध्यक्ष प्रचण्डको तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ वार्तामा हुनुहुन्छ ।

यसअघि राष्ट्रपतिसँग नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पनि पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीसँगको भेटपछि अध्यक्ष दाहाल भने शितल निवासबाट सिधै बालुवाटारपुग्नुभएको हो ।


प्रकाशित | २१ असार २०७७, आईतवार १३:२२