समुदायस्तरमै कोरोना सङ्क्रमण

पोखरा, असार १७ गते । गण्डकी प्रदेशका छ जिल्लाका समुदायस्तरमै कोरोना भाइरस कोभिड–१९ का सङ्क्रमित पुष्टि हुन थालेका छन् । गण्डकी प्रदेशका अधिकांश सङ्क्रमित बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका रहेकोमा पछिल्लो समय समुदायस्तरमै कोरोना सङ्क्रमित पुष्टि हुन थालेका हुन् । सरकारले कोरोना परीक्षणका लागि विदेशबाट आएका, सङ्क्रमितको सम्पर्कमा आएका र सङ्क्रमणको लक्षण देखिएकाको परीक्षण गर्दै आइरहेको थियो ।

पछिल्लो समय कुनै पनि यात्रा विवरण नभएका व्यक्तिमा सङ्क्रमण देखिन थालेपछि कन्ट्याक्ट टे«सिङको कामलाई अगाडि बढाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा पहिलो पटक लमजुङ ठेगाना भई काठमाडौँमा बस्दै आएका एक बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती बालकको स्थायी बसोबास जिल्ला बाहिर रहे पनि जिल्लाको स्थायीवासी भएकाले सङ्क्रमित भनिए पनि उनको लमजुङ जिल्लासँग कुनै सम्पर्क नरहेको जनाइएको छ ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्य कास्की, स्याङ्जा, गोरखा, बागलुङ, तनहुँ र पर्वतमा क्वारेन्टाइन बाहिरका व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो । पोखरास्थित आफ्नै निवासमा बेहोश भई उपचारका लागि काठमाडौँ लगिएका एक व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा अरू कसैलाई पनि कोरोना सङ्क्रमण देखिएको थिएन । पछिल्लो समय उपचारका लागि अस्पताल पुगेका, अस्पतालका स्वास्थ्यकर्मी, क्वारेन्टाइनमा काम गर्ने व्यक्ति सुरक्षाकर्मीमा समेत कोरोना सङ्क्रमण देखिन थालेपछि त्रास बढ्दै गएको छ ।

मोटरसाइकल दुर्घटना भई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुगेका पर्वतका युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । उनको यात्रा विवरण नभए पनि सङ्क्रमण देखिएपछि गरिएको कन्ट्याक्ट टे«सिङमा अन्यलाई कोरोना सङ्क्रमण देखिएको थिएन । पर्वतमा कोरोना सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पर्वत अस्पतालमा कार्यरत सात, नीजी मेडिकलमा काम गर्ने एक युवक र ती युवकको सम्पर्कमा आएकामा कोरोना सङ्क्रमण देखिएको थियो ।

बागलुङका एक सुरक्षाकर्मी, दुई जना क्वारेन्टाइनमा खाना पकाउने र एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायस्तरमै सङ्क्रमण फैलिन थालेको आशङ्का गरिएको छ । त्यही आशङ्कामा काठेखोला गाउँपालिकाले आफ्नो क्षेत्रलाई सिल नै गरेको छ ।

स्याङ्जामा समुदायस्तरमै कोरोनाको सङ्क्रमित एक व्यक्तिको मृत्यु भइसकेको छ । सिरुवारीमा व्यापार गरी बस्ने एक व्यक्तिमा कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यात्रा विवरण नभएका ती व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरेपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै स्याङ्जामा एक एम्बुलेन्स चालक र दुई जना क्वारेन्टाइनमा काम गर्ने र दुई जना अन्य व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

गोरखाका गाउँमा पनि समुदायस्तरमै सङ्क्रमित देखिन थालेका छन् । लकडाउन सुरु भएपछि एक हजार ७० जना भारतबाट नेपाल फर्किएका थिए । गोरखाको भीमसेन थापा गाउँपालिकामा देखिएका २९ सङ्क्रमितमध्ये आठ जना क्वारेन्टिन बाहिरका व्यक्ति रहेका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

प्रहरी हिरासतबाट छुटेर घरमा बसिरहेका एक व्यक्तिमा सङ्क्रमण देखिएपछि भीमसेन थापा–८, महादेवटारका ३८ जनाको कन्ट्याक्ट टे«सिङ गर्दा तीन जनामा सङ्क्रमण देखिएको थियो । भारतबाट आएर सोही गाउँपालिकाको वडा ६ अश्राङको क्वारेन्टाइनमा बसेका व्यक्तिको रिपोर्ट नेगेटिभ आएको भन्दै छोडिएको भोलिपल्ट तिनै व्यक्तिको रिपोर्ट पोजेटभ आएपछि उनीहरूबाट समुदायमा सङ्क्रमण फैलन पुगेको आशङ्का गरिएको छ । प्रहरी हिरासतमा रहेका पालुङ्टारका युवक र काभ्रेको पाँचखालबाट आएर गण्डकी गाउँपालिकाको क्वारेन्टाइनमा बसेको एक व्यक्तिमा पनि कोरोना पुष्टि भइसकेको छ ।

अहिलेसम्म प्रायः भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरूमा सङ्क्रमण देखिएकोमा क्वारेन्टाइन बाहिरका व्यक्तिमा सङ्क्रमण देखिन थालेपछि त्रास बढेको छ । गण्डकी प्रदेशमा हालसम्म ९६६ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा धेरै नवलपरासीमा २१८, बागलुङमा १९४, स्याङ्जामा १७४, तनहुँमा १२४, पर्वतमा ८५, गोरखामा ८४, कास्कीमा ४९, लमजुङमा २०, म्याग्दीमा १६, मनाङमा एक र मुस्ताङमा एक जनामा सङ्क्रमण देखिएको थियो । आजको गोरखापत्र दैनीकमा खवर छ ।

(चन्द्रप्रकाश शर्मा, अर्जुन काफ्ले र नरेन्द्र ढकालको सहयोगमा) 


प्रकाशित | १७ असार २०७७, बुधबार ०८:१८