सप्तरी, उदयपुर र मकवानपुरमा चट्याङ्ग लागेर सातको मृत्यु, तीन घाइते

काठमाडौं : देशका विभिन्न ठाउँमा चट्याङ्ग लागेर सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सप्तरीमा बिहिबार बिहान छुट्टाछुट्टै ठाउँमा चट्याङ्ग लागेर चार जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ्गमा परेर जिल्लाको महदेवा गाउँपालिकामा दुई जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

चट्याङ्गमा परेर सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र सप्तकोशी नदी छेउमै २७ वर्षीय बेचन यादवको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका ३० वर्षीया ललितादेबी यादवको मृत्यु भएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिनुभयो ।

त्यसैगरी राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको बताइएको छ । चट्याङ्ग लागेर घाइते भएका साहलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले बताइएको छ । बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । घरमा काम गरिरहेको अवस्थामा चट्याङ्ले घाइते भएकी उहाँको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज उपचार भइरहेको छ ।

यसैबीच उदयपुरमा चट्याङ्गले लागेर बिहीबार एक जनाको मृत्यु भएको र छ भने अर्का एक ब्यक्ति घाईते हुनुभएको छ । बिहान आएको मुसलधारे पानीेसँगै परेको चट्याङ्गले लागेर त्रियुगा नगरपालिका १३ असारीका ४५ वर्षिय कानुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीका अनुसार चट्याङ्गले लागेर सोही वडाको भातिखर्ककी ३१ वर्षिया अनिता खड्का घाईते घाइते हुनुभएको छ । उहाँको खुट्टाको केहि भाग जलेको छ । सामान्य अवस्थामा रहनुभएकी खड्काको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रनाउ पुरीले बताउनुभयो ।

दुबै जना खेतमा काम गर्दै गरेको अवस्थामा चट्याङ्गले हानेको प्रहरीले जनाएको छ । चट्याङ्गले हानेर घाईते हुनुभएका चौधरीलाई उपचारका लागि उदयपुर जिल्ला अस्पतला पु¥याए लगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको उहाँले बताउनुभयो ।

यसैबीच मकवानपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु र एक जना घाइते भएका छन् । गएराति अविरल वर्षासँगै परेको चट्याङ लागेर बकैया गाउँपालिका २ स्थित कालापानीका बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको मृत्यु भएको हो ।

सम्झनाको घरमा बसिरहेको अवस्थाा चट्याङ लागेर घटनास्थलमा नै विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा गए राति नै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षका ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको १४ वर्षीय छोरा किरण जिम्बा घाइते भएकोमा दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । स्रोत – गोरखापत्र अनलाइन


प्रकाशित | ११ असार २०७७, बिहीबार ११:१९