एकदिन

राजु खप्तडी बस्नेत

एकदिन तिम्रो आत्मा मिल्छ परमात्मासंग
तिम्रो आकार मिल्छ निराकारसंग
तिम्रो उत्पत्ति मिल्छ शृष्टिसंग
तिम्रो गुण मिल्छ निर्गुणसंग
तिम्रो अस्तित्व मिल्छ ब्रम्हाण्डसंग
देखाउँछौ के ? लुकाउंछौ के ?
तिमी यहीका थियौ यही कै हुन्छौ

धरामा छौ धरामै मिल्छौ
यहाँ भन्दा पर कहाँ जान सक्छौ ?
न लिएर आयौ न छोडेर जान्छौ
तिमी शून्यमा थियौ अनन्त शून्य मै पुग्छौ
एकदिन तिम्रो अहङ्कार मिल्छ पहिचानसंग
तिम्रो शान्ति मिल्छ श्मशानसंग
कमाउंछौ के ? गुमाउंछौ के ?
यी वहानासंग के साइनो लाउछौ ?
तिमी यहीका थियौ यही कै हुन्छौ

टाढाकालाई छोडिदेउ एकैक्षण पर
यी नजिकका सामाग्री जुटाउ वर
माटो, वायु, जल ,अग्नि, आकाश
तिम्रो अस्तित्व हुनुमा यी नै हुन कारक
एकदिन तिम्रो विच्छेदन मिल्छ तत्वसंग
तिम्रो संकुचन मिल्छ सारसंग
छोड्छौ के ? जोड्छौ के ?
आफ्नै अर्थसंग किन मतभेद हुन्छौ ?
तिमी यहीका थियौ यही कै हुन्छौ

बस्नेत गैर आवासीय नेपाली संघ (एनआरएनए ) फ्रान्सको सचिव हुनुहुन्छ ।


प्रकाशित | ४ असार २०७७, बिहीबार १७:३६