संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मत पारित

काठमाडौँ : नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाबाट पनि सर्वसम्मत पारित भएको छ । संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा भएको दफावार छलफलपछि मत विभाजनको आधारमा संविधान संशोधन विधेयक पारित भएको हो ।

राष्ट्रिय सभामा तत्काल कायम रहको कुल सांसद सङ्ख्यामध्ये प्रस्तावको पक्षमा (हुन्छ भन्ने) ५७ मत, प्रस्तावको विपक्षमा अर्थात् (हुन्न भन्ने) मा शून्य मत र मत दिन्न भन्ने पक्षमा शून्य मत परेकाले राष्ट्रिय सभाबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा पारित भएको हो । राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हुन्न र मत दिन्न भन्ने पक्षमा कसैको पनि मत नआएकाले सर्वसम्मत रुपमा पारित भएको घोषणा गर्नुभएको हो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नक्सा निशान छापमा अद्यावधिक गर्न याे विधेयक संघीय संसदमा ल्याइएकाे हाे । यसअघि प्रतिनिधि सभाले विधेयकलाई सर्वसम्मत पारित गरिसकेको छ।

अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ। सरकारले ७ जेठमा लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको पूर्ण राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।


प्रकाशित | ४ असार २०७७, बिहीबार १५:४८