कोरोना संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो, ९ हजार भन्दा बढी संक्रमणबाट मुक्त

काठमाडौं : कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणले कुनै नेपालीले ज्यान गुमाउनु परेन ।

एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा हिजो शनिवार साँझसम्म उल्लेख्य रुपमा कमी आएको छ ।

डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो । संघका अनुसार कोरोना संक्रमणले हालसम्म १ सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् भने नेपालमा ज्यान गुमाउने संख्या १८ पुगेको छ । हाल सम्म विश्वभर कोरोनाका कारण १४५ जना नेपालीले ज्यान गुमाएका छन् ।

सापकोटाका अनुसार नेपालको ५ हजार ३ सय ३५ सहित विश्वभरका ३५ देशमा २३ हजार १ सय २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो ।


प्रकाशित | ३२ जेष्ठ २०७७, आईतवार ११:५९