बिदामा पनि बैङ्क खोल्न राष्ट्र बैङ्कको निर्देशन

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक देवकुमार ढकालले आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा र काउन्टर एवं बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको जानकारी गराउनुभयो ।

सार्वजनिक बिदामा पनि करिब चारदेखि पाँच हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रूपमा यो बढ्दो क्रममा रहेकाले यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैङ्कको दाबी छ ।


प्रकाशित | ३० जेष्ठ २०७७, शुक्रबार ०८:१०