कुवेतबाट आममाफी पाएका २९९ जना नेपाली महिला काठमाडौं आइपुगे

काठमाडौं : कुवेतबाट नेपाली महिला लिएर आएको दोस्रो जहाज पनि काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । कुवेतबाट आएको दोस्रो जहाजबाट थप १४९ जना नेपाली नागरिकलाई स्वदेश फर्काइएको हो । जजिरा एयरलायन्सको दोस्रो जहाज २ः०० बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड भएको छ ।

यसअघि पहिलो फ्लाइटमा १५० जना नेपाली नागरिक स्वदेश फर्किएका थिए । यो सहित कुवेतबाट २९९ जना नेपाली महिला स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले आज नेपाल फर्कनेको संख्या २९९ जना रहेको जानकारी गराउनुभयो ।

उनीहरूलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशले निर्माण गरेका होल्डिङ सेन्टरमा लगेर राखिनेछ । त्यसपछि उनीहरूलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।

नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेपछि आफ्नो देशमा अलपत्र नेपाली कामदारलाई कुबेतले आफै पठाएको हो । कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये २ हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा २९९ जना नेपाली बिहिबार फर्काइएको हो ।

यसअघि म्यानमारबाट २६ जना, खाडी मुलुक दुबईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना र जापानबाट ७ जनालाई नेपाल फर्काइ सकिएको छ ।


प्रकाशित | २९ जेष्ठ २०७७, बिहीबार १४:५२