विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दरमा ७५ प्रतिशतले कमी: एनआरएनए

काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा कमी आएको छ । गैर आवासीय नेपाली संघका अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन् ।

गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा.संन्जिव सापकोटाका अनुसार सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । संघको पछिल्लो तथ्यांक अनुसार विभिन्न देशमा १ सय २५ जना गैर आवासीय नेपालीहरुको कोरोनाका कारणले निधन भएको छ ।

१३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस्, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् । संयोजक डा.सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना गैर आवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।


प्रकाशित | २५ जेष्ठ २०७७, आईतवार १४:५६