जहाज भाडाको बिषयमा मत बाझिएपछि युएईबाट ल्याइने नेपाली नागरिकको बारेमा अन्यौल

काठमाडौं: सरकारले शुक्रबारदेखि विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार कार्य शूरु गरेको छ । आजै म्यानमारमा रहेका २६ जना नेपाली नागरिक नेपाल आइसकेका छन् ।

उता युएइबाट ल्याइने नेपाली नागरिकको बारेमा भने अन्यौल भएको छ । युएईको सारजहाँबाट एयर अरेबियाको जहाजबाट आज १६८ जना नेपाल आउने यसअघि तय भएको थियो ।

आज ११ः ४५ मा ल्याण्ड हुने भनिएको त्यो जहाज भाडाको बिषयमा मत बाझिएपछि शुक्रबार ४ बजे आउनेगरि समय सारिए पनि अन्यौल नै रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहिले लिखित रुपमा निःशुल्क भाडामा नेपाली नागरिक पठाउने त्यहाँको राजदूताबासले जानकारी पठाएको थियो । तर अन्तिम अवस्थामा बिहीबार भाडाको बिषयमा उताबाट कुरा आएपछि त्यसमा सैद्धान्तिक रुपमा स्पष्ट नभएसम्मका लागि युएइबाट नेपाली ल्याउन नसकिने गरि रोकिएको हो । आठवटा जहाजबाट नेपाली नागरिकलाई निःशुल्क नेपाल ल्याइदिने सहमति जनाएको थियो ।

सरकारले मध्यपूर्वबाट झण्डै ४० हजारको उद्धार गर्दैछ । जसमा युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजना रहेका छन ।

नेपाल सरकारले गैर आवासीय नेपाली संघको सहयोगमा विदेशमा रहेका नेपालीको उद्धार गर्न लागेको हो ।


प्रकाशित | २३ जेष्ठ २०७७, शुक्रबार ११:१६