म्यान्मार र यूएईले आफ्नै खर्चमा आज नेपाली फिर्ता गर्दै

काठमाडौं : खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र बिम्स्टेक सदस्य मुलुक म्यान्मारले आफ्नै खर्चमा १ सय ९४ जना नेपालीलाई स्वदेश फर्काउँदैछ ।

यूएईले १ सय ६८ र म्यानमारले २६ जना नेपाली पठाउन लागेको हो । उनीहरू शुक्रबार काठमाडौं आइपुग्दै छन् । फर्किएकाहरूको हवाई खर्च नेपाल सरकारले व्यहोर्नु पर्दैन ।

म्यान्मार र यूएईले कोरोना भाइरस संक्रमण फैलिएपछि ती मुलुकमा अलपत्र परेकामध्ये १ सय ९४ नेपालीलाई आफ्नै खर्चमा ल्याइदिने भएका हुन् । यूएईले आफ्नोमा अलपत्र परेकालाई फर्काउन डेढ महिनाअघि नै सरकारलाई पत्राचार गरेको थियो । म्यानमारमा अलपत्र परेकालाई भने सेनाको पहलमा फिर्ता हुन लागेको परराष्ट्र अधिकारीले जनाए ।

म्यान्मारबाट २६ जना नेपाली ल्याउन नेपाली ल्याउन परराष्ट्र मन्त्रालयको पहलसँगै सेनाले त्यहाँको सेनासँग आग्रह गरेको अधिकारीहरूले बताए । नेपाली सेनाको आग्रहलाई स्विकार्दै म्यान्मारको सेनाले आफ्ना २ वटा विशेष जहाजबाट त्यहाँ अलपत्र परेका नेपालीलाई ल्याउन तयार भएको हो । म्यान्मारले आफ्नो सेनाको दुई वटा विशेष जहाजबाट २६ जना नेपाली ल्याउँदै छ । म्यान्मारबाट नेपाली लिएर उडेको सेनाको विशेष जहाज शुक्रबार बिहान ९ः५० र १०ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ ।

यूएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरेबियाको चार्टड विमान शुक्रबार अपराह्न काठमाडौंमा अवतरण हुनेछ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले म्यान्मार र यूएईबाट आउने नेपालीलाई व्यवस्थापन गर्ने प्रक्रिया पूरा भइसकेको बताए । विमानस्थल ओर्लिएपछि उनीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ । स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको शंका भएमा त्यस्ता व्यक्तिलाई सीधै कोभिड अस्पताल लगिनेछ ।

अन्यलाई कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी) ले प्रदेश अनुरुप तोकेको होल्डिङ क्षेत्रमा राखिनेछ । त्यसपछि सम्बन्धित प्रदेशसँगको समन्वयमा उनीहरूलाई सम्बन्धित पालिकामा पुर्‍याएर क्वारेन्टाइनमा राखिनेछ । १४ दिने क्वारेन्टाइन बसाइका क्रममा कोरोना भाइरसको संक्रमण नदेखिएमा उनीहरू आफ्नो घर जान सक्ने गरी तयारी गरिएको छ ।

क्वारेन्टाइनमा रहेका बेला कोरोना भाइरसको संक्रमण देखिए उनीहरूलाई प्रदेशस्थित कोभिड अस्पतालमा भर्ना गरिनेछ । सीसीएमसीको संयोजनमा म्यान्मार र यूएईबाट नेपालीहरू फिर्ता ल्याउन लागिएको हो । म्यान्मारबाट आउनेहरूमा बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ४, प्रदेश १ का ४ र प्रदेश ५ का १ जना छन्।

यूएईबाट आउने १ सय ६८ मध्ये प्रदेश १ का १ सय ३३ जना र बाँकी गण्डकी प्रदेशका रहेको उल्लेख छ । यूएईबाट आउने यात्रुको संख्या घटबढ भएकाले प्रदेशअनुसार यात्रुको विवरण प्रस्ट भइसकेको छैन । म्यान्मार र यूएईबाट आएका सबैलाई सीसीएमसीले बनाएको कार्ययोजनाअनुसार व्यवस्थापन गरिनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनीहरूलाई प्रदेशबमोजिम तोकिएको होल्डिङ क्षेत्रमा राखिनेछ ।

सीसीएमसीले प्रदेश १ का यात्रुको व्यवस्थापनका लागि १ हजार जना क्षमताको भक्तपुरको सूर्यविनायकस्थित इम्पेरियल पार्टी प्यालेस र ठिमीस्थित हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ क्षेत्र तोेकेको छ। बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का यात्रुलाई काठमाडौंको सुकेधारास्थित मिराकल र स्काइजोन पार्टी प्यालेस, बसुन्धारास्थित यती र कुण्डलिनी पार्टी प्यालेसलाई होल्डिङ क्षेत्र तोकेको छ । उपत्यकामा बस्ने यात्रुलाई समेत सुकेधारा र वसुन्धाराकै पार्टी प्यालेसमा राखिनेछ । आजको अन्नपूर्ण पोष्टबाट


प्रकाशित | २३ जेष्ठ २०७७, शुक्रबार ०८:३७