दक्षिण कोरियाका दुई सय विद्यालय सञ्चालनमा आएको केही दिन नबित्दै पुन: बन्द

काठमाडौंँ:  कोरोना भाइरस सङ्क्रमण बढेपछि दक्षिण कोरियाका विद्यालय पुनः बन्द गरिएको छ । कोरियामा सञ्चालनमा आएको केही दिन नबित्दै दुई सय विद्यालय बन्द गरिएको हो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम घटेपछि दक्षिण कोरियामा गत बुधबारबाट विद्यालय सञ्चालनमा आएको थियो । तर भोलिपल्ट ७९ जना नयाँ सङ्क्रमित फेला परेपछि फेरि विद्यालय बन्द गरिएको हो । पछिल्लो दुई महिनामा दक्षिण कोरियामा यति धेरै सङ्ख्यामा सङ्क्रमित फेला परेको पहिलो घटना हो ।  शुक्रबार ५८ जना नयाँ सङ्क्रमित फेला परेपछि दक्षिण कोरियामा सङ्क्रमित हुने ११ हजार ४०२ पुगेको छ ।

अधिकांश सङ्क्रमित सियोलबाहिरको बुकन शहरको एक वितरण केन्द्रसँग सम्बन्धित छन् । शहरको सबै २५१ विद्यालय बन्द गरिएको छ । राजधानी सियोलमा निर्धारण गरिएको ११७ विद्यालय सञ्चालन हुनुपूर्व नै पुनः बन्द गर्न सूचित गरिएको छ ।

 


प्रकाशित | १८ जेष्ठ २०७७, आईतवार १९:०२