भारतमा थप १ महिना लकडाउन गर्ने निर्णय

एजेन्सी : भारतमा थप एक महिना लकडाउन लम्ब्याउने निर्णय भएको छ । भारत सरकारले शनिबार उक्त निर्णय गरेको हो । भारतमा यो पाँचौ चरणको लकडाउन हो ।

निर्णयअनुसार पाँचौ चरणको लकडाउनसँगै चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी भारत सरकारले गरेको छ । जसअनुसार जून ८ देखि लकडाउन खुकुलो बनाउने पहिलो चरण सुरु हुन्छ ।

पहिलो चरणमा धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र र सपिङ मलहरु खुलाउने तयारी गरिएको छ । भारत सरकारले यसलाई अनलक चरण एक भनेको छ । दोश्रो चरणमा राज्य सरकारहरुसँग छलफल गरी विद्यालय, कलेज, शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु खोलिने जनाइएको छ । तेश्रो चरणमा अन्तर्राष्ट्रिय उडान, सिनेमा हल, मेट्रो रेलसेवा, स्विमिङ पुल लगायत खोलिने जनाइएको छ ।

भारतमा हालसम्म एक लाख ७४ हजार ४ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाबाट शनिबार साँझसम्म भारतमा ४ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रमण पुष्टि भएकामध्ये करिब ८३ हजार निको भएका छन् ।


प्रकाशित | १७ जेष्ठ २०७७, शनिबार २०:१०